बिप्लव–बैद्यसहितका पाँच पार्टीद्धारा भोलि नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा आज मसाल जुलुस, भोलि देशैभरि प्रदर्शनसहित नेपाल बन्द गर्ने
३ फाल्गुन २०७८, मंगलवार १६:३८

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेको हो । आज बसेको पाँच वटै पार्टी र मोर्चाको संयुक्त बैठकले भोलि नेपाल बन्दको निर्णय गरेको हो । संयुक्त बैठकको बक्तव्य केहीबेरमा जारी हुनेछ ।

नेपाल बन्दको आयोजकमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा भोलि नेपाल बन्द घोषणा गरिएको हो ।

भोलिको नेपाल बन्द सफल पार्न आज साँझ मसाल जुलुस निकाल्ने तयारी भरहेको छ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले सरकार विदेशीको दलाल बनेर जनतामाथि साम्राज्यवादी शासन लाद्ने कार्यको प्रतिवाद गर्न भोलिको नेपालबन्द आह्वान गरिएको बताए । उनले नेपाल बन्दमा भिषण बनाइने समेत बताए ।

संयोजक गजुरेलले भोलि यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गरिने बताउँदै आम जनतालाई सडक उत्रिएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आह्वान गरेका छन् । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले अमेरिकी इण्डोप्यासिफिक रणनीति अन्तर्गत नेपालमा लागू गर्न खोजिएको एमसीसी कुनै पनि हालतमा लागू गर्न नदिईने बताउँदै सांसदहरुलाई जनताको पक्षमा उभिन र अमेरिकी दलाल नबन्न चेतावनी दिएका छन् ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*