३५% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा १०% बिन्दुले बढ्यो

३ फाल्गुन २०७८, मंगलवार १३:२६

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच १० प्रतिशत वृद्धि भएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

दोस्रो त्रैमाससम्ममा बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३५ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालू आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ ।चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको छ ।

सम्भावित दोहोरोपन हटाएर त्यस बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको समितिको भनाइ छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । एक बर्षमा बीमाको पहुँच १० प्रतिशतले वृद्धि हुनु राम्रौ रहेको बीमा अधिकारीहरु बताँउछन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ । तर, जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक भएपछि मात्रा सोहीअनुसार बीमाको पहुँच गणना गरिने समितिको भनाई छ ।

नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशक भएको छ । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन ।तर, पछिल्ला ४÷५ वर्ष यता भने बीमाको बजारसँगै पहुँच पनि ह्वात्तै बढेको छ । ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*