अर्थमन्त्रालयद्धारा नियम विपरित राष्ट्रिय बीमा कम्पनीमा पत्राचार, सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न निर्देशन !

१ फाल्गुन २०७८, आईतवार १६:५३

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयले अनावश्यक रुपमा हस्तक्षेप गरेको छ । अर्थमन्त्रालयले आज कम्पनीलाई सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेको स्रोतको दावी छ । कानुनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पठाएको पत्र गैर कानुनी रहेको छ ।

अर्थमन्त्रालयको उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय महाशाखा प्रमुख रमेश केसीले राष्ट्रिय बीमा कम्पनीमा पत्राचार गरेका छन् । ‘अति गोप्य, सम्बन्धित व्यक्तिले मात्रै खोल्ने’ लेखेर पठाइएको पत्रभित्र डेढ महिनादेखि अल्झिएको सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित निर्देशन दिइएको उच्च स्रोतले जनाएको छ । राष्ट्रिय बीमा कम्पनी स्रोतका अनुसार उक्त पत्र अध्यक्ष वा सञ्चालक समितिको बैठकमा मात्रै खोल्ने भनेर सिलबन्दी अवस्थामा राखिएको छ । अर्थमन्त्रालयले पठाएको गोप्य पत्रमा छनौट प्रक्रियामाथि प्रश्न चिन्ह उठाउँदै उक्त प्रक्रिया रद्द गरी पुनः विज्ञापन गर्न भनिएको स्रोतको दावी छ ।

अर्थमन्त्रालयका सचिव मधु कुमार मरासिनी र वित्तिय समन्वय महाशाखा प्रमुख रमेश केसीले राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया रोक्न निर्देशन दिएको जनाइएको छ । राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्त गर्नको लागि र्सिइओ छनौट समितिले गत पुस १७ गते पाँच जना आवेदकबाट प्रस्तुतीकरण सकाएर तीन जनाको नाम गोप्य सिलबन्दी पत्र सञ्चालक समितिमा बुझाईसकेको छ ।

अर्थमन्त्रालयभित्र अर्थमन्त्रीले पक्रिया अनुसार बोर्डलाई निर्णय गर्न निर्देशन दिएका थिए । तर सचिव मरासिनी र महाशाखा प्रमुख केसीले शेयर बराललाई नै नियुक्ती गर्न दवाव दिँदै आएका थिए । अर्थमन्त्रालयमा मन्त्री र सचिवबीचको विवादका कारण राष्ट्रिय बीमा कम्पनीका सिईओ नियुक्ती रोक्न पत्राचार गरिएको स्रोतको दावी छ ।

रोचक कुरा के छ भने गैर कानुनी तरिकाले पत्राचार हुँदा अर्थमन्त्री जनार्दन शर्मा किन मौन छन् ? प्रश्न चिन्ह उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*