नेपाल लाइफका अधिकांश सूचांकमा प्रगति, सवा खर्बको जीवन बीमा कोष, अन्य सूचांकमा गर्यो यस्तो प्रगति
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचांकहरुमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।
आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब ८३ करोड ९३ लाख ५४ हजार ९२१ रुपैयाँ संचित गर्न सफल भएको छ । यो गत आवको तुलनामा २३.२५ प्रतिशतले बढि हो । गत आवमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब एक अर्ब २८ करोड रुपैयाँ संचित थियो ।
जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ । कम्पनीको बलियोपना र शक्तिशाली झल्किने जीवन बीमा कोष नेपाल लाइफले देशकै सबैभन्दा ठूलो कोषको रुपमा खडा गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष ६६ प्रतिशतले बृद्धि भई एक अर्ब ७५ करोड २५ लाख रुपैयाँ संचित गरेको छ । कम्पनीको समग्र कोषको आकार २४ प्रतिशतले बृद्धि भई एक खर्ब २७ अर्ब ३१ करोड माथि पुगेको छ । गत आवमा जम्मा एक खर्ब दुई अर्ब रुपैयाँ संचित थियो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ५.९८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १७ अर्ब आठ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको समीक्षा अवधीमा १८ अर्ब ११ करोड तीन लाख १६ हजार ८०४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।
कम्पनीको खुद दावी भुक्तानी ३१.२४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा जम्मा पाँच अर्ब ५६ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकामा चालु आवको छ महिने समीक्षा अवधीमा सात अर्ब ३० करोड ६६ लाख ३४ हजार ३६० रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।
कम्पनीको कर्जा, बीमालेख धितोमा कर्जा, लगानी तथा अन्य आयमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । गत आवको यसै अवधीमा पाँच अर्ब छ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १७.९९ प्रतिशतले बृद्धि गरी पाँच अर्ब ९७ करोड रुपैयाँ त्यस्तो आम्दानी गरेको छ । त्यसैगरी, कम्पनीको व्यवस्थापन खर्च १०.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ४८ करोड छ लाख ८५ हजार रुपैयाँ खर्च गरेकोमा चालु आवमा सो रकम बृद्धि भई ५३ करोड २९ लाख १४ हजार ४२ रुपैयाँ पुगेको छ ।
कम्पनीले आफ्ना अभिकर्तालाई वितरण गर्ने कमिशन ३.९७ प्रतिशतले घटेको छ । चालु आवको छ महिनाको अवधीमा एक अर्ब ८४ करोड ४६ लाख ८२ हजार २९९ रुपैयाँ आफ्ना अभिकर्तालाई कमिशन वितरण गरेको छ । गत आवमा एक अर्ब ९२ करोड भन्दा बढि कमिशन वितरण गरेको थियो । कम्पनीले बीमा अभिकर्ताको एजेन्सी स्ल्यावमा परिवर्तन गर्दा अभिकर्ताले पाउने कमिशन घटेको हो ।
कम्पनीको खुद नाफा १३ करोड चार लाख ९९ हजार ४९३ रुपैयाँ छ । गत आवको तुलनामा ६९.६४ प्रतिशतले घटी हो । बीमा समितिले तोकेको फ्युचर बोनसका लागि अनिवार्य २० प्रतिशतले प्रोभिजन गर्नुपर्ने व्यवस्थाका कारण मुनाफा घटेको हो । गत वर्ष नेपाल लाईफले २५ करोड रुपैयाँ राईट ब्याक गरेका कारण मुनाफा बढि देखिएको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा खुद नाफा हेरफेर हुनसक्नेछ ।
कम्पनीमा हाल कायम पोलिसी संख्या ३.७९ प्रतिशतले बढेको छ । गत आवमा १३ लाख ३४ हजार ४६७ वटा बीमा पोलिसी कायम रहेकोमा चालु आवको छ महिने अवधीमा १३ लाख ८६ हजार ५५ वटा पोलिसी कायम रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३.६३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३४.३४ रुपैयाँ छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४७३.६६, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९३४ रुपैयाँ रहेको छ ।
समग्रमा कम्पनीको मुनाफा घटेपनि वित्तिय अवस्था प्रगतिपथमा अघि बढिरहेको छ । नियामकीय निकाय बीमा समितिले बीमितको सुनिश्चित भविष्यका लागि लागू गरेको फ्युचर बोनस सम्बन्धी प्रावधानका कारण मुनाफा र बीमितले पाउने बोनसदर दुवै घटेका छन् ।