दोस्रो त्रैमाससम्ममा सगरमाथा इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा देखियो प्रगति

२८ माघ २०७८, शुक्रबार ११:१२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

आज प्रकाशित चालु आर्थिक वर्षको पुष मसान्तसम्मको विवरणअनुसार सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क १२.४६ प्रतिशतले बृद्धि भएर ७७ करोड ८३ लाख भन्दा माथि आर्जन गरेको हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले ६९ करोड २० लाख रुपैयाँमात्रै खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

चालु आवको पुष मसान्तसम्ममा सगरमाथा इन्स्योरेन्सको लगानी, कर्जा अन्यबाट प्राप्त आय १६.५९ प्रतिशतले बृद्धि भएर १९ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको यस्तो आय १६ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

आम्दानी बढेसँगै कम्पनीको यस अवधिसम्ममा खर्च पनि चुलिन पुगेको । समिक्षा अवधिसम्ममा कम्पनीको व्यवस्थापन खर्च ३१.६४ प्रतिशतले बृद्धि भएर १७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको व्यवस्थापन खर्च १३ करोड १५ लाख रुपैयाँमा सीमित रहेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा सगरमाथा इन्स्योरेन्सले आफ्नो बीमा ब्यवसायमा उत्कृष्ट सुधार गरेको सार्वजनिक वित्तीय विवरणमा देखिएको छ । गत आवको पुष मसान्तसम्मममा १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ रहेको कुल बीमा शुल्क आम्दानी यस आवको यसै अवधिसम्ममा २८.४७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा सगरमाथा इन्स्योरेन्सको बीमा कोषको आकार २५.५३ प्रतिशतले बढेर १ अर्ब १३ करोड २९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै जगेडा कोषको आकार २७.३५ प्रतिशतले बढेर ५५ करोड ४३ लाख रुपैयाँ संचित गरेको छ । महाविपत्ती कोषको आकार ११.५६ प्रतिशतले घट्न पुगेको छ ।

चालु आवको पुष मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी २५.७० प्रतिशतले बढेर ४२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.२४ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने जारी बीमा पोलिसी संख्या ९.७९ प्रतिशतले घटेर ८५ हजार ७८० सीमित भएको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ३१.९८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ, तरलता अनुपात ३.८५% र मूल्य आम्दानी अनुपात ४३.०६ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*