भूमि भएरपनि भूमिविहिन बनिरहेकाहरुलाई लालपूर्जा वितरण पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु : मन्त्री श्रेष्ठ

२६ माघ २०७८, बुधबार १८:५५

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएका छन् ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएका छन् ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापीहुदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताएका छन् ।

जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोहीपनि भूमिहिन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुु प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
सिरहामा आज, भोली र पर्सिमा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ ।
यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नु भएको थियो ।
२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आउनु भएको छ ।
यसैबीच, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम शुरु गरिसकेको बताउनु भएको छ ।
सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरुवा चरुवाका बास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदन अनुसार दिगो रुपमा नै समस्या समाधान गर्ने गरी सरकार अघि बढ्ने बताउनुभयो ।

उहाँले संविधानमा नै व्यवस्था गरिएको हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिदै यसका लागि वजेटको व्यवस्थापन समेत गरिसकेको बताउनुभयो ।

सिरहामा रहेका हरुवा चरुवाहरुको बस्तीको निरिक्षण समेत गरी मन्त्री श्रेष्ठले विषयबस्तुबारे जानकारी लिनु भएको थियो ।मन्त्री श्रेष्ठले हरुवा, चरुवा कमैया कमलारीको समस्या समाधान गर्न उनीहरुसँग छलफल गरी ५ सदस्यीय अध्ययन समिति गठन गर्नु भएको छ ।

उक्त अध्ययन समितिले हरुवा, चरुवा, हलिया र कमैया कमलरीहरुको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकरलाई बुझाउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*