घरजग्गा र शेयर बजारमा कर्जा धेरै हुँदा बैंकिङ सिष्टममा समस्याः सिविफिन

२३ माघ २०७८, आईतवार २२:२५

काठमाडौं । नेपाल बैंकर्स परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले घरजग्गा र शेयर बजारमा धेरै कर्जा दिएका कारण तथा उपभोग्य वस्तु अन्तर्गत अन्य शिर्षकमा समेत ठूलो मात्रामा कर्जा प्रवाह भएकोले बैंकिङ सिष्टममा समस्या आएको बताएका छन् ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले नेपाली बैंकिङ क्षेत्रले उपभोग्य वस्तुहरुका लागि ‘अन्य’ शिर्षकमा ठूलो मात्रामा कर्जा प्रवाह भएको स्वीकार गर्दै तरलता समस्याको समाधान बैंकहरुबाटै सुरु गर्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘हामीले कसैलाई दोष दिएका छैनौं सुधार हामी आफैबाट गर्नुपर्र्छ भनेका छौं ।’

सिविफिनले गलत गर्ने एक–दुई वटा बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गर्न नसक्दा सिंगो बैंकिङ क्षेत्र ध्वस्त भएको बताए । उनले केही बैंकहरुले गलत गर्दा सबै बैंकहरुलाई दण्डित गर्ने केन्द्रीय बैंकको नीति गलत भएको बताए । उनले गलत गर्ने बैंकहरुलाई समेत सुध्रन चेतावनी दिएका छन् ।

अध्यक्ष गोल्यनले मंसिर महिनामा छ खर्बभन्दा बढि कर्जा अन्य शिर्षकमा प्रवाह भएको बताउँदै आयातलाई अझै रोक्न आवश्यक रहेको औल्याएका छन् । गत आवमाा १० प्रतिशतले घटेको आयात यस अवधीमा ६१ प्रतिशतले बृद्धि भएको बताउँदै सरकारले दीर्घकालिन नीति ल्याउने तथा विशेष योजना बनाउनु पर्ने सुझाव दिइएको छ ।

सिविफिनले प्रतिवेदनमा घरजग्गा तथा शेयर धितोमा प्रवाह भएको कर्जाले मुलुकको उत्पादकत्व विकास हुन नसक्ने निकालेको छ । केन्द्रीय बैंकले अर्ध बार्षिक मौद्रिक नीतिको समीक्षाको तयारी गर्दा संघले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको प्रतिवेदन केन्द्रीय बैंकमा समेत बुझाइने हुँदा हाल ४–१२ को सीमा लगाइएको शेयर धितोको ऋणमाथि अझै कसिलो गर्र्ने हो कि ? भन्ने आशंका उत्पन्न भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*