कोरोना बीमाको दावी भुक्तानी आधा आधा तिर्ने सहमति ! कहिले पाउँछन् बीमितले पैसा ?

२३ माघ २०७८, आईतवार १९:१८

काठमाडौं । २०७७ साल बैशाख ७ गतेबाट बीमा समितिले बीमा पुलमार्फत सुरु गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी तिर्न सरकार र बीमा कम्पनी तथा बीमा समितिबीचमा आधा आधा बाँडेर तिर्ने लगभग सहमति भएको छ ।

यस्तो सहमति भएपनि बीमितले पैसा कहिले पाउँछन् भन्ने कुरा अझै अनिश्चित छ । कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने बारे अर्थमन्त्रालयले लगातार चासो देखाएपछि बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनी तथा नेपाल सरकारले मिलेर तिर्ने सहमति हुन लागेको हो ।

प्रारम्भिक रुपमा रहेको सो सहमतिबारे निर्णय हुन भने बाँकी छ । कोरोना बीमा बापतको बक्यौता रकम झण्डै साढे ११ अर्ब रकम मध्ये ४५ प्रतिशत बीमा कम्पनी र बीमा समिति तथा बाँकी रहेको रकम नेपाल सरकारले तिर्ने गरी सहमति हुन लागेको हो ।

यद्यपि नेपाल सरकारले व्यहोर्ने रकम तत्काल भुक्तानी गर्न सम्भव भने छैन । सरकारले आगामी बजेटमा समावेश गरेमा अर्को आर्थिक वर्षमा सर्वसाधारणले कोरोना बीमा बापतको रकम पाउन सक्नेछन् ।

बीमा समितिले कोरोना बीमाको बक्यौता रकम तिर्ने सम्बन्धमा अर्थ मन्त्रालयको निर्देशन बमोजिम बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुसँग छलफल गर्दा कूल बक्यौता मध्ये ५ अर्ब रुपैयाँ तिर्न बीमा समिति, बीमा कम्पनी र पुनर्बिमा कम्पनीले सहमति जनाएका छन् ।
बीमा समितिले गत असोज २५ मा अर्थमन्त्रालयमा पठाएको पत्रमा उल्लेख गरिएका कोरोना बीमा भुक्तानीका विकल्पमा टेकेर दावी भुक्तानीको मोडालिटी बनाउने उद्देश्यले बीमा समितिले गत शुक्रबार सबै कम्पनीका सिइओहरुसँग छलफल गरेको थियो । सो छलफलमा बीमा कम्पनीहरुले लगभग आधा बक्यौता तिर्ने सहमति गरेको बीमा समितिले जनाएको छ ।

अब आधा रकम भुक्तानी गर्न अर्थमन्त्रालय तयार भएपछि मात्रै कोरोना बीमाको बक्यौता समस्या समाधान हुनेछ । चालु आर्थिक वर्षको बजेटमा कोरोना बीमाको लागि कुनै बजेट व्यवस्थापन नगरिएकोले आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेमा समस्या समाधान हुनेछ । सरकारले चाहेमा मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराई कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारले रकम निकासा गर्न सक्नेछ । तर, यस्तो प्रयास यसअघि पनि नभएको होइन । मन्त्रिपरिषदले राज्य कोषले दायित्व बहन गर्नुपूर्व आवश्यक निर्णयहरु नगरेको लगायतका कारण देखाएर फर्काईदिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर आगामी जेठ १५ पछि नै पनि रकम निकासा गर्न सक्नेछ । त्यसैले बीमितले तत्काल रकम पाउन नसके पनि कोरोना बीमितहरुले आगामी जेठपछि भने रकम पाउने सम्भावना बलियो बन्दै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*