एक घण्टामा चार पटक शेयर मूल्यमा उतारचढाव, शेयर बजारमा कसरी हुँदैछ चलखेल ?

११ माघ २०७८, मंगलवार १५:४६

काठमाडौं । नियामक निकाय कमजोर बनेको फाइदा उठाउँदै शेयर बजारका माफियाहरुले सोझा लगानीकर्ताहरुलाई फसाउन घातक चलखेल गरेको तथ्याङ्कले देखाएको छ । विगत तीन दिनदेखि लगातार घट्नेक्रममा रहेको शेयर बजारमा मंगलबार पनि सुरुमा पहिरो गएको थियो । माफियाहरुले योजनाबद्ध तरिकाले शेयर बजारमा मूल्य घटाउन चलखेल गरेपछि आम लगानीकर्ताहरुले प्रतिवाद गरेको आजको कारोबार तालिकाले देखाएको छ ।

कारोबार सुरु भएदेखि नै घट्न सुरु गरेको शेयर बजारमा करिब १५ मिनेटमा २७८१.७३ को बिन्दुमा झारिएको थियो । एकाएक शेयर बजारमा पहिरो जान थालेपछि आम लगानीकर्ताहरुले बजारमा हस्तक्षेप गर्दै पहिरो जानबाट रोकेका थिए ।

सुरुको १५ मिनेटमा निराशाजनक रुपमा घट्को शेयर बजार अर्को १७ मिनेटमा यसरी बृद्धि भयो कि २८४३ को बिन्दुमा पुगेको थियो । १७ मिनेटमा ह्वात्तै बढेको शेयर बजार पुनः अर्को १० मिनेटमा ह्वात्तै गिरावट आएर २८०५ को बिन्दुमा आईपुग्यो । त्यसपछि फेरि अर्को १८ मिनेटमा शेयर मूल्य बढेर २८३४ को बिन्दुमा पुग्यो । करिब एक घण्टाको उचार चढावमा एउटा समुह बलपूर्वक शेयरको मूल्य घटाउन चाहेको देखिन्थ्यो भने अर्को समुह बलपूर्वक बढाउन चाहेको देखिन्थ्यो । आजको कारोबारग्राफबाट यही तथ्य उजागर भएको हो ।

त्यसपछि अर्को एक घण्टासम्मलगातार बढिरहेको शेयर बजार २८५७ को बिन्दु छोएर पुनः तल झरेकोका थियो । सधैं कारोबार बन्द हुनुअघि बढ्ने बजार आज भने घटेको छ । कारोबार बन्द हुनु एक मिनेट अघि नेप्से २८१२ बाट बढेर कारोबार बन्द हुुँदा २८१५ पुगेको छ ।

कृत्तिम रुपमा शेयरको मूल्य बढाएका माफियाहरुले उच्च बिन्दुमा पुगिसकेकोले अब आफ्नो शेयर बिक्री गरेर सेफ ल्याण्ड हुन उद्यत रहेको आशंका गरिएको छ । हिजो १०० अंकले नेप्से घटेको कारण पनि माफियाहरुले शेयर बिक्री गर्न सक्षम भइसकेको र अब सोझा लगानीकर्ताहरु यसको मारमा पर्ने अनुमान गरिएको छ । कृत्तिम रुपमा शेयर मूल्य बढाएर लगानीकर्ताहरुलाई मख्ख पारेका माफियाहरुले अहिले आफ्नो शेयर बिक्री गरिसकेपछि कृत्तिम रुपमा पुनः मूल्य घटाउन योजनाबद्ध तरिकाले त लागेका छैनन् ? यसको खोजिनीति कसले गर्ने ?

मंगलबारको समग्र कारोबारले सोझा नेपालीलाई फसाउन शेयर बजारका माफियाहरुले याजनाबद्ध कारोबार गरेको देखिन्छ । त्यसैले शेयर बजारमा कारोबार गर्नेहरु सचेत हुनुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*