दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?

५ माघ २०७८, बुधबार २०:१८

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले घटेको शेयर बजार बुधबार थप घटेपछि लगानीकर्ताहरु सशंकित बन्न पुगेका छन् ।

गत सोमबार नेपालको कूल ग्राहस्थ उत्पादन ४१ खर्ब भन्दा माथि नेप्सेको बजार पुँजिकरण पुगेपछि शेयर बजारमा भइरहेको मूल्यबृद्धिबारे चर्को नैतिक प्रश्न उठेको थियो । त्यसो त केहीले देशको भयावह अवस्थाका बीचमा शेयर बजारमा भइरहेको मूल्यबृद्धिलाई बेलुन फुलाइएको अर्थमा समेत लिँदै आलोचना समेत गर्दै आइरहेका थिए । तर, सबै अनुमान र विश्वास र विश्लेषणहरुलाई अस्वीकार गर्दै अघि बढेको शेयर बजार विगत दुई दिनदेखि घट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देशको खराव अवस्थाको बीचमा समेत सर्वसाधारण लगानीकर्ताहरुलाई शेयर खरिद गर्न उत्साहित बनाउँदै अघि बढेको नेप्से एकाएक तल झर्न थालेको हो । यसलाई नेपालको कमजोर नियामक अवस्थाको फाइदा उठाउँदै माफियाहरुले चलखेल गर्दै आएको आरोप लाग्दै आएको छ । माफियालाई शेयर बिक्री गर्दा मूल्य उच्च अंकले बृद्धि हुने र माफियाहरुले शेयर खरिद गर्ने अवस्था आउँदा शेयर बजार पीडादायी अवस्थामा पुगेर लगानीकर्ताको रुवाबासी सुरु हुने गरेको गुनासोहरु समेत सुनिएकै हो ।
यस पटकको शेयर बजार घटेको विषयलाई कतिपय मिडियाहरुले बेलुन झै फुलेको शेयर बजारमा करेक्सन आएको समेत औल्याएका छन् । केही माफिया र तिनका एजेन्टहरुले पाँच हजार पुग्ने भविष्यवाणी गर्दै लगानीकर्ताहरुलाई लगातार शेयर किन्न समेत प्रेरित गरिरहेको सामाजिक सञ्जालमा हेर्न पाउँछौं ।

लगातार बढिरहेको शेयरमा गिरावट आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । माफियाहरुले आफ्नो शेयर बिक्री गरिसकेको र अब पुनः शेयर किन्ने उद्देश्यले योजनाबद्ध रुपमा शेयरको मूल्य घटाउन लागेको हुनेसक्ने सम्भावनाहरु समेत रहेका छन् । कमजोर नियामन, शेयर लगानीकर्ताहरुको गाली सुनेर थर थर डराउने सरकार भएकोले नेपालको शेयर बजार निकै तरल देखिएको छ । अकारण ३२०० को बिन्दु पुग्ने, अकारण अर्को महिना २२०० मा झर्ने र देशको अर्थतन् त्र गम्भिर संकटमा फसेको र बैंकले ऋण पूर्ण रुपमा बन्द गरेको अवस्थामा समेत कोरोबार र मूल्य उच्च अंकले बढाउँदै महिना दिनमा ३००० को बिन्दुमा पुगेको शेयर बजार अहिले केही संशोधन गरेर २९९८ बिन्दुमा आईपुगेको छ ।

पछिल्लो समय जलविद्युत कम्पनीहरुको शेयरमा निकै चलखेल भइरहेको पाइएको छ । विगतमा १०० रुपैयाँ भन्दा तल रहेका शेयर अहिले ५०० भन्दा माथि त्यसमाथि पनि सर्वाधिक कारोबारको सूचिमा जलविद्युत कम्पनीकै शेयर हुनुले जलविद्युत क्षेत्रका शेयर कारोबारहरु शंकाको घेरामा परेका छन् । जलविद्युतमा हुने लगानीतर्फ सर्वसाधारणको आकर्षण खासै नहुने तर ति कम्पनीका शेयर बजारमा यति धेरै आकर्षण किन छ ? पछिल्लो कारोबारले प्रश्न चिन्ह खडा गरिदिएको छ ।

यसरी शेयर बजारमा उच्च अंकको चलखेलमा राजनीतिक संरक्षणमा भइरहेको समेत हुनसक्ने सम्भावना उच्च रहेको छ । त्यस्तै दोस्रो सम्भावनामा माफियाहरुले आफूसँग भएको शेयर बिक्री गरिसकेर अब पुनः खरिद गर्नको लागि शेयरको मूल्य नियोजित रुपमा घटाइएको पनि हुनसक्दछ । यस्तो अवस्थामा साना लगानीकर्ताहरुले शेयर बिक्री नगरेर माफियाको सेटिङ भत्काउन सक्नुपर्दछ । तेस्रो भारतमा विगत दुई दिनदेखि उच्च अंकले शेयरको मूल्यमा गिरावट आउनु अर्को कारण हुनसक्दछ । अर्को कारण नेप्सको कूल बजार पुँजिकरण देशको कूलग्राहस्थ उत्पादनभन्दा माथि पुग्नु पनि हो । चुक्त पुँजि केही खर्ब तर कागजी मूल्य ४१ खर्बभन्दा माथि पुगेपछि शेयर बजारका खेलाडीहरु समेत अलि झस्किएको हुनसक्दछ । त्यसैले लगानीकर्ताहरु संयमित र सचेत हुन त जरुरी छ नै शेयर बजारको राजनीति, चलखेल, सेटिङ के के भइरहेको छ, सो समेत बुझेर शेयर खरिद गर्नुपर्ने अवस्था आएको छ । अन्यथा सोझो पाराले शेयर बजारमा लगानी गर्दा एक सातामा सडकको बास हुन के बेर ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*