पुस महिनामा फोन पेमार्फत ५१ अर्बको कारोबार, ३० दिनमा ४४ लाख वटा कारोबार

४ माघ २०७८, मंगलवार ०७:३३

काठमाडौं । डिजिटल कारोबारमा हालसम्मकै ऐतिहासिक कारोबार गर्दै फोन पेले नयाँ रेकर्ड राख्न सफल भएको छ । पुस महिनामा मात्रै फोन पे नेटवर्कबाट ५१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको सो कम्पनीले जनाएको छ ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको हो । एफवान सफ्टले तयार पारेको फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानीलगायतका कार्यबाट सो रकमको कारोबार भएको हो ।

महिना दिनमा आधा खर्बभन्दा माथिको ऐतिहासिक कारोबार गरेसँगै कम्पनीले भव्य रुपमा खुशियाली मनाएको छ । सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पूरा गर्न सहयोगी भूमिका खेल्ने सदस्य बैंक, वित्तीय संस्था, डिजिटल वालेटका साथै प्रयोगकर्ताहरुलाई धन्यवाद दिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रुपैयाँमा सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा कुनै शुल्क तिर्नुपर्दैन । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल एपमा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

इसेवा सम्बद्ध फोनपे नेटवर्कमा हालसम्म देशका ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । अन्तर्राष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आबद्ध छन् । यस्तै, फोनपेमा हालसम्म पाँच लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक जोडिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*