नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता, शेयर स्वाप कति ?

२९ पुष २०७८, बिहीबार १८:४८

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ। आज बसेको संचालक समितिको बैठकले प्रारम्भिक सम्झौता गरेको हो । प्रति शेयर ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो।

आज दिउँसो दुबै बैंकको संंचालक समितिले सेयर आदानप्रदान अनुपात टुङ्ग्याएको हो । ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्र्ने अनुमोदन गर्दै मर्जरको सम्झौता गर्ने निर्णय भएको थियो। मर्जरका लागि नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।

दुबै संस्थाबीच मर्जरको पहल डेढ बर्षअघिबाटै भएको हो। तर, नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर स्वामित्व कसरी टुङ्ग्याउने भन्ने बारेमा समय लाग्दा मर्जरले गति लिन सकेको थिएन। आइएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरीद गर्ने टुङ्गो लागेपछि मर्जरको औपचारिक सहमति बनेको हो।

सारिका चौधरीको नाममा भने मर्जरपछि मात्र सेयर नामसारी हुने छ। सारिकाले १५२ रुपैयाँका दरले आइएफआइसीको स्वामित्वमा रहेको सम्पूर्ण सेयर खरीद गर्ने छिन्। अहिले खरीद गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले छेक्छ।नबिल बैंकको अहिले चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकको शुक्रबारको साधारणसभाले ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँले बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ।

नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब चार करोड रुपैयाँ छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ। यस हिसाबले नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुग्ने छ।
नेपाल बंगलादेश बैंकलाई नबिलले ४२ रुपैयाँमा किन्न लागेको हो। यस हिसाबले नेपाल बंगालादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब २३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ।

पुँजी बाहेक नबिलको जगेडा कोषमा सेयर आदानप्रदान अनुपातबाट जोगिने ५ अर्ब ८४ करोड रुपैयाँ जाने छ। यसबाहेक नेपाल बंगलादेश बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ। यो पनि जाने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*