कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने

२१ पुष २०७८, बुधबार १२:४३

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिने तयारी गरिरहेको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बितरणमा रोक लगाउने र निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको जनाएको छ ।

कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्न लागिएको समितिले जनाएको छ । विगत लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसकिरहेको हुँदा लाभांश बाढ्न र अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न नदिने विषयमा छलफल भईरहेको छ । पौडेलले भने ‘कोरोना बीमाको ठूलो दाबी भुक्तानी बाँकी छ, यस्तो अवस्थामा नगद लाभांश वितरण गर्न नदिने कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’ कोरोना बीमाको भुक्तानी नहुँदासम्म नगद लाभांश वितरणमा रोक लगाउने तयारी भइरहेको छ र यस बिषयमा अन्तिम निर्णय भने भईनसकेको उनले बताए ।

उनले बोनस शेयरमा भने कुनै प्रकारको रोक नलगाईने प्रष्ट पारेका छन् । उनले भने ‘बोनसमा केहिँ गर्न लागिएको छैन, नगद लाभांशमा भने ठूलो रकम बाहिर जाने हुँदा नगद लाभांशमा रोक लगाउने सम्बन्धमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइसकेको छैन ।’

बीमा समितिका अनुसार हालसम्म निर्जिवन बीमा कम्पनीहरूमा १४ अर्ब ९३ करोड ९६ लाख दाबी परेको छ । एक लाख ५९ हजार दुई सय २५ वटा बीमा पोलिसीबापत उक्त दाबी परेको हो ।
दाबी परेकोमध्ये पुल र कम्पनीबाट चार अर्ब ८१ करोड भुक्तानी भएको छ । पुलबाट तीन अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको छ । कम्पनीबाट एक अर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । कम्पनीहरूले ३७ हजारवटा बीमा दाबीबापत सो रकम भुक्तानी गरेका छन् ।

समितिको तथ्यांकअनुसार १७ लाख ५८ हजार तीन सय ४३ जनाले कोरोना बीमा पोलिसी खरिद गरेका छन्, जसमध्ये नौ लाख ५८ हजार एक सय ९८ अनुदानअन्तर्गत जारी भएको छ । कोरोना बीमा कम्पनीहरूले एक अर्ब पाँच करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्

तर, कम्पनीहरूले १० अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छैनन् । कम्पनीहरूले दुई करोड ११ लाख बीमाशुल्क अनुदान रकम प्राप्त गरेका छन् भने कोरोना बिमा मापदण्डबमोजिम सरकारबाट करिब ११ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्न बाँकी नै रहेको छ । जसको लागि अर्थमन्त्रालयमा यसै बिषयमा अध्ययन समेत भईरहेको छ। मन्त्रालयमा अध्ययन भईरहेपनि अन्तिम रुप भने अहिलेसम्म दिन सकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*