सगरमाथा इन्स्योरेन्सद्धारा एकै पटक ३० जना कर्मचारीलाई निष्काशन, वर्षौदेखि काम गरेका कर्मचारीहरु आतंकित

१६ पुष २०७८, शुक्रबार १४:५२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकै पटक ३० जना कर्मचारीहरुलाई निष्काशन गरेको छ । कम्पनीमा कार्यरत अस्थायी कर्मचारीहरुलाई इमेलमार्फत पत्र दिएर निष्काशन गरिएको हो । कम्पनीले खर्च कटौति गर्न भन्दै मार्केटिङ विभागका स्थायी र अस्थायी कर्मचारीहरुलाई निकाल्न सुरु गरेको बुझिएको छ । मार्केटिङ विभागका विभिन्न शाखामा कार्यरत ३० जना कर्मचारीलाई एकैपटक निष्काशन गरेपछि सो कम्पनीमा कार्यरत कर्मचारीहरु आतंकित बन्न पुगेका छन् ।

कर्मचारीहरुले भने सिईओ चंकी क्षेत्रीले योजनाबद्ध रुपमा नयाँ कर्मचारी भर्ना गर्न पुराना कर्मचारीहरु निष्काशन गरेको आरोप लगाएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक कर्मचारीले भने, ‘व्यवस्थापनले ३० जना कर्मचारीलाई निकाल्ने योजनाबद्ध रुपमा दुई महिनादेखि काम गर्दै आएको र आज निकाल्न सफल भएको छ, हामी यसलाई मान्दैनौं ।’

कर्मचारीलाई कम्पनीबाट निष्कासन गरिएको पत्र इमेलमार्फत दिइएको छ । अस्थायी कर्मचारीहरुलाई निष्काशन गरेको कम्पनीले पुराना र स्थायी कर्मचारीहरुलाई समेत निष्काशन गर्न पत्राचार गरेको बुझिएको छ । पत्र बुझेका कर्मचारीहरुले यही पुस २९ गतेसम्म मात्रै काम गर्न पाउनेछन् । कम्पनीले जम्मा १५ दिनको पूर्व सूचना दिएर कर्मचारीहरु निष्काशन गरेको पाइएको छ । जुन श्रम ऐन विपरित समेत छ ।

बैंकको माथिल्लो व्यवस्थापन समूहका र अन्य कर्मचारीलाई एकै पटक निकाल्ने योजना केही महिना अघि नै बनाएको बुझिएको छ । बीमा क्षेत्रमा बढ्दो जनशक्ति अभावका बीचमा कम्पनीले कर्मचारीहरु निकाल्नुको कारण खुलाएको छैन । कम्पनीको उच्च स्रोतले केही कर्मचारीहरुलाई पत्र पठाएको स्वीकार गरेको छ । ३० जना कर्मचारीलाई एकै पटक निकालिएको सम्बन्धमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीसँग सम्पर्क गर्दा कुनै जवाफ दिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*