२४ घण्टामा १६ लाखमा फैलियो कोरोना, अमेरिकामा संक्रमणको अवस्था भयावह, बेलायत, फ्रान्स र इटालीको अवस्था उस्तै

१६ पुष २०७८, शुक्रबार ०८:०५

काठमाडौं । कोरोना महामारीमा पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टले विश्व पुनः असामान्य अवस्थातर्फ फर्कदैछ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च १६ लाख ४४ हजार ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार यसअघिको १० लाख दैनिक संक्रमणको अवस्थाबाट हिजो ह्वात्तै बढेको हो । यद्यपि मृत्युदर भने उच्चभएको छैन । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार ४२६ रहेको छ ।

विश्वकै विकसित देश अमेरिकामा कोरोना भाइरसको संक्रमणको अवस्था भयावह भएको छ । अमेरिकामा बिहिवार मात्रै पाँच लाख ४५ हजार ४५८ जनामा कोरोना भाइरस संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना भाइरसको तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३२९ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा संक्रमण हुनेको संख्या पाँच करोड ५२ लाख २६ हजार २५२ पुगेको छ भने कूल मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार ७१२ जना रहेको छ ।

कोरोना भाइरसको चौथो तरंग भएको वर्तमान महामारीले अमेरिकामा विगतमा झै तनावपूर्ण अवस्थाको सिर्जना गर्ने चेतावनी दिइएको छ । पछिल्लो तीन दिनमा अमेरिकामा कम्तीमा १२ लाख मानिसमा कोरोना भाइरस देखिएको जनाइएको छ । बुधबार चार लाख ५० हजार भन्दा बढि भेटिएकोमा गत मंगलबार साढे तीन लाख भन्दा बढिमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसो त कोरोना भाइरसबाट युरोपियन देशहरु फ्रान्स, स्पेन, इटाली र बेलायतमा पनि उस्तै भयावह अवस्था देखिएको छ । फ्रान्समा दैनिक संक्रमण हुनेको संख्या दुई लाख पुगेको छ भने बेलायतमा एक लाख ८९ हजार पुगेको छ । तीव्र गतिमा कोरोना फैलिएपछि गत साता फ्रान्सले कोरोनाको संक्रमण प्रकाशको गतिमा फैलिएको जनाएको थियो ।

उता, स्पेनमा दैनिक संक्रमण एक लाख ६१ हजार पुगेको छ । त्यस्तै इटालीमा दैनिक संक्रमण दर एक लाख २६ हजार छ । पछिल्लो २४ घण्टामा फ्रान्समा १८० जनाको मृत्यु भएको छ भने बेलायतमा ३३२ जना, स्पेनमा ७४ जना र इटालीमा १५६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण कम भएपनि जर्मनीमा पछिल्लो २४ घण्टामा ३७९ जनाको मृत्यु भएका छ ।

नेपालको छिमेकी मुलुक भारतमा १३ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तीन दिनमा भारतमा कोरोना संक्रमण बढ्ने क्रममा रहेको छ ।

कोरोना भाइरसको कारण विश्वभरकै बीमा व्यवसाय प्रभावित छ । जीवन बीमाको व्यवसाय खुम्चिएको छ भने निर्जिवन बीमामाथि दावी भुक्तानीको दवावले कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*