बीमा समितिद्धारा भारतीय नगारिकलाई पुनर्बीमा उप समितिमा मनोनित

१० पुष २०७८, शनिबार ०७:२७

काठमाडौं । बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनबारे गठन गरेको पुनर्बीमा उपसमितिमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थेलाई मनोनित गरेको खुलेको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार हिजो विहान बीमा समितिमा बसेको पुनर्बीमा उपसमितिको पहिलो बैठकमा सदस्यको हैसियतमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थे सहभागी भएको बीमा समितिले स्रोतले पुष्टि गरेको छ ।

उनी हिमालयन रि इन्स्योरेन्स कम्पनीका सिईओ हुन् । बीमा समितिले सरकारलाई सुझाव दिन गठन गरेको उप समितिमा नै भारतीय नागरिक राखेको विषयमा बीमा समितिले थप प्रष्ट पार्न चाहेको छैन ।

बीमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा गठन गरेको पुनर्बीमा उपसमितिमा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डे, उपाध्यक्ष नूर प्रकाश प्रधान, नेपाल जीवन बीमक संघका उपाध्यक्ष राज कुमार अर्याल, नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट पुनर्बीमा विज्ञ विष्णु प्रसाद उपाध्याय र हिमालयन रि इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर चन्द्रशेखरन सदस्य रहेका छन् ।

पुनर्बीमाको सिद्धान्त, विश्वव्यापी अभ्यास विपरित नेपाली पुनर्बीमा कम्पनीहरुले पुनर्बीमा नेपालमै गर्नुपर्ने भन्ने बीमा समितिले मंसिर ९ गते गरेको निर्णय विवादमा परेपछि सो सम्बन्धमा गठन गरेको उप समितिको पहिलो बैठक हिजो बसेको हो । सो पहिलो बैठकले पुनर्बीमा सम्बन्धी मंसिर ९ गते निर्देशन र सो निर्देशनले पार्ने प्रभावका सम्बन्धमा छलफल भएको जनाइएको छ ।

बीमा समिति नेपाल सरकारकै निकाय हो । सिंगो बीमा क्षेत्रको नियमन गर्ने जिम्मेवारी पाएको बीमा समितिले गठन गरेको उपसमितिमा विदेशी नागरिक राखिएपछि बीमा क्षेत्रमा अर्को आश्चर्यजनक घट्ना भएको चर्चा चल्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*