२०७९ बैशाख १४ गते ७५३ स्थानीय सरकारको निर्वाचन गर्ने निर्वाचन आयोगको प्रस्ताव

९ पुष २०७८, शुक्रबार २२:४७

काठमाडौं । आगामी २०७९ साल बैशाख १४ गते देशका ७५३ वटै स्थानीय सरकारको निर्वाचन गर्न निर्वाचन आयोगले सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगले सो प्रस्ताव गरे लगत्तै देशैभरिका स्थानीय तहहरुमा निर्वाचनमा निर्वाचनको तरंग पुगेको छ ।

निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाल सरकारका मन्त्रीहरुसँग गरेको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन् । साथै आयोगले दुई चरणमा गर्ने भए बैशाख १४ र २२ मा निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय सरकारको निर्वाचन गर्न ढिलाई भइसकेको भन्दै सरकारसँग निर्वाचनको मिति घोषणा गर्न छलफल अघि बढाइएको बताए । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*