अर्थतन्त्रको यथार्थ ढाकछोपले नवप्रवेशी र साना लगानीकर्ता फस्दैछन्, शोकमा मासुभात खाने प्रवृत्तिले शेयर बजारलाई कता लादैछ ?

नबराज न्यौपाने
७ पुष २०७८, बुधबार ११:२५

समाचार विश्लेषण

काठमाडौं । गत साता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले भने, देश आर्थिक संकटतर्फ जाँदैछ, अवस्था भयावह बन्दैछ, भनेर स्टाट राख्दा शेयर लगानीकर्ताहरुले तथानाम गाली गरेको र बोल्नै नसक्ने अवस्था आएको गुनासो गरे ।

अहिले सामाजिक सञ्जाल वा अनलाईनमा देशको वर्तमान आर्थिक चित्रण गर्ने वित्तिकै शेयर लगानीकर्ताहरुको गालीको ओइरो नै लाग्ने गर्दछ । हुँदा हुँदा अर्थमन्त्री जनार्दन शर्मा आफैले पनि देशको अर्थतन्त्रबारे अनावश्यक हल्ला नमच्चाउन भन्दै अभिव्यक्ति नै दिए ।
साना लगानीकर्ताहरु के ठानिरहेका छन् भने देशको भयावह आर्थिक अवस्थाको चित्रण सुन्ने वित्तिकै शेयर बजार घटाउन चलखेल गरेको भन्दै अर्थविद माथि अस्लिल शब्दले गाली गर्ने गरेका छन् । अरु त अरु माओावदी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड समेत यही प्रवृत्तिको सिकार बने ।

टाठाबाठा शेयर बजारका लगानीकर्ताहरुको उठबस अर्थविद्, सरकारका आर्थिक सल्लाहकारहरुसँग उठबस गर्छन्, उनीहरुले आफ्नो सेटलमेन्ट गरिसकेका छन् । तर, सोझा लगानीकर्ताहरु यतिबेला हुटिट्याऊले आकाश थामे झै गरी शेयर बजारलाई विगतकै ३२०० मा फर्काउन चाहिरहेका छन् । जसका कारण उनीहरु शेयर बजारबारे यथार्थ वा अर्थतन्त्रको अहिलेको सचित्र व्याख्या गर्ने वित्तिकै तनाथनाम गाली गलौजमा उत्रिने गरेका छन् ।

गाली गलौज गरेर शेयर बजार थामिन्छ ?
देशको अर्थतन्त्रमा देखिएको तनावपूर्ण अवस्थाको चित्रण गर्नेलाई गाली गरेर शेयर बजारमा पर्ने प्रभाव कम गर्न सकिन्छ ? देशको अर्थतन्त्रको अवस्था के छ ? बैंक तथा वित्तिय संस्थाहरुको अवस्था कस्तो ? जस्तो छ, त्यस्तै कुरा बाहिर ल्याउँदा सचेतना बढेर पूर्व तयारी गर्ने कि गाली गलौज गरेर ढाकछोप गर्ने ? हो प्रश्न चिन्ह उठेको छ । देशको अर्थव्यवस्था ढल्न लाग्दा पनि पुँजि बजारका केही मानिसहरु भने शेयर बजार बढ्नु पर्दछ भनेर आन्दोलन गर्दै हिडिरहेका छन् । केही मानिसहरु अर्थमन्त्री वा प्रचण्डको कारण त केही मानिसहरु गभर्नरको कारण सिंगो शेयर बजार ध्वस्त भएको भन्दै गाली गर्दैछन् । ध्वस्त भएको शेयर बजार कि अर्थतन्त्र ? यसबारे गम्भिर नबन्ने हो भने शेयर माफियाहरुले अझै पनि सोझा लगानीकर्ताहरुलाई फसाउने सम्भावना प्रवल नै छ ।

साना लगानीकर्ताको पक्षमा बोलिदिने कसले ?
नेपालको पुँजि बजारमा माफियादेखि मध्यबर्ग र साना लगानीका लगानीकर्ता समेतको लगानी छ । त्यसैले नेपालको शेयर बजारमा बहुसंख्यक साना लगानीकर्ताहरुको हितमा हुनुपर्ने हो । तर, माफियाहरुले विभिन्न बाहना पारेर साना लगानीकर्ताहरुलाई चुस्ने विगतको प्रवृत्ति यस पटक पनि देखिएको छ । साना लागनीकर्ताहरुलाई अनेकन बाहनामा शेयर किन्न प्रोत्साहित गरेर माफियाहरुले अझै पनि मध्यम बर्गीय र साना लगानीकर्ताहरुलाई फसाइरहेका छन् । आज देश आर्थिक रुपमा भयावह बन्दैछ, शेयर मार्केटमा आधा सय अंकको बृद्धि छ । यसले के देखाउँछ भने माफियाहरुले मूल्य बढ्न लागेको देखाएर लगानीहरुलाई आफ्नो शेयर बिक्री गर्न चाहिरहेको देखिन्छ । शेयर बजारबाट पछिल्लो एक वर्षमा तीन खर्ब रुपैयाँ माफियाहरुले मुनाफाबापत लिइसकेका छन् । शेयर बजार १३०० बाट बढेर वर्षदिनमा ३२०० पुग्यो ।

सोझा र अल्पज्ञान भएका लगानीकर्ताहरुले भटाभट शेयर किनेर थुपारे माफियाहरुले भटाभट कारोबार गरेर तीन खर्ब रुपैयाँ लुटे । यो लुटमा राज्य १८ अर्ब रुपैयाँ कर लिएर दंग पर्दैछ । आफ्नै देशका जनताले रगत पसिना गरेर कमाएको तीन खर्ब रुपैयाँ माफियाको हातमा पुगेको चाल पाउन सकेको छैन । यसले बर्गीय रुपमा माफियालाई थप बलियो पार्यो भने मध्यमबर्ग र नवप्रवेशी लगानीकर्ताहरुलाई खुम्च्याउने काम गर्यो ।
अहिले जस जसले साना लगानीकर्ताहरुको पक्षमा बोलेको भन्दैछन्, उनीहरुले पुँजि बजारमा देशको अर्थतन्त्रले पार्ने प्रभाव न्यूनिकरण गर्ने पक्षमा होइन, अवस्था ढाकछोप गर्न खोज्दैछन्, अवस्था ढाकछोप गरेर साना लगानीकर्ताको हित हुने गरी पुँजि बजार संरक्षण हुँदैन । बरु, झनै खराव अवस्था आउन सक्छ ।

साना लगानीकर्ताहरुको हित कसरी हुन्छ ?
साना लगानीकर्ताको हित सोच्नेहरुले सामूहिक रुपमा नयाँ एजेण्डा बनाएर अघि बढ्न अब ढिलाई गर्नु हुँदैन । उच्च बिन्दुमा शेयर हुँदा शेयर बजारमा लगानी गरेकाहरुलाई सरकारले राहत दिने योजना ल्याउन आग्रह गर्न सामूहिक रुपमा पहल गर्न सकेमा जारी आर्थिक संकटमा लगानीकर्ताहरुलाई कम भन्दा कम क्षतिमा यस भयावह अवस्थाबाट उम्किन सकिन्छ । अधिकतम् ५० हजार वा एक लाख वा कति कित्ता शेयर भएकालाई साना लगानीकर्ता भनेर भन्ने हो सो स्पष्ट हुनुपर्दछ । त्यसपछि पछिल्लो एक वर्षमा शेयर किनेकै मूल्यको ६५ प्रतिशतसम्म ऋण पाउने व्यवस्थाको लागि लविङ गर्न सकिन्छ । एक वर्षसम्म त्यसरी ऋण लिन पाएको अवस्था मात्रै पनि साना लगानीकर्ताहरुको हित संरक्षण गर्न सकिन्छ ।  पुँजि बजार देशको अर्थतन्त्रको सानो हिस्सा हो ।

शेयर लगानीकर्ताहरुले त्यसरी लिएको ऋण नतिरेमा भविष्यमा कालो सूचिमा परेर थप बैंकिङ कारोबार समेत गर्न नसक्ने हुँदा बैंकहरुलाई खासै समस्या पर्दैन । लाखौं साना लगानीकर्ताहरुको हितमा यस्तो निर्णयका लागि आवाज किन नउठाउने ? सिंगो देश आर्थिक संकटमा पर्दा सरकारले राहत प्याकेज घोषणा गर्नै पर्दछ । त्यसरी रातह प्याकेज घोषणा गर्दा लाखौं शेयर लगानीकर्ताहरुको हित रक्षा हुने काममा सरकार समेत सकारात्मक हुनै पर्दछ ।

किन हुँदैछ गाली गलौज ?
जब कुनै अर्थविद शेयर बजारमा लगानी जोखिममा छ भनेर साना र नवप्रवेशी लगानीकर्ताहरुको पक्षमा बोल्छन्, अनि माफियाका हण्डी खाने तथा केही अन्जान लगानीकर्ताहरुको ओइरो लाग्छ । त्यसैको प्रतिविम्वन गत साता संसदीय समितिमा भएको छलफलमा अर्थविद् क्षेत्रीले देशको यथार्थ अवस्था बोल्न सक्ने अवस्था नरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका थिए ।

बीमापोष्टले सुरुदेखि देशको अर्थतन्त्र र शेयर बजारबारे विश्लेषणात्मक समाचारहरु दिँदै आएको छ । यसले कतिपयले सहज रुपमा ग्रहण गरेका छन् त कतिपयले अस्लिल र छाडा गाली समेत गर्दै आएका छन् । त्यस्तै अर्थविद दीपेन्द्र बहादुर क्षेत्रीले संसद समक्ष शेयर लगानीकर्ताहरुको गाली गलौज र धम्कीका कारण देशको अर्थतन्त्रको बास्तविकता र यथार्थ बाहिर बोल्ने अवस्था नभएको भनेर दिएको अभिव्यक्ति दिएबाट शेयर लगानीकर्ताहरु निकै आक्रामक रुपमा गाली गलौजमा उत्रिएको पुष्टि हुन्छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आज होइन, सन् १९४८ मै मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र मार्फत ग्यारेन्टी गरिएको विषय हो । तर, नेपालका शेयर लगानीकर्ताहरुले १८ औं शताब्दीमा झरेर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने अर्थविद, मिडियाहरुलाई तथानाम गाली गर्दैछन् । यो विषय किन उठेको छैन, पूर्वीय सभ्यतामा जो पीडित छ, उसलाई बर्बराउने छुट दिने चलन छ । माफियाको डिजाइनमा, राज्यले प्रभावकारी नियमनको अभावमा तीन खर्ब साना तथा नवप्रवेशी लगानीकर्ताहरुले गुमाएका छन् । जुवा भन्ने जान्दा जान्दै तातो भुङग्रोमा पसेकाहरुको गाली अझै थुप्रैदिन जारी रहने छ । तर, यथार्थ, सधैं यथार्थ हुन्छ । आज यथार्थ के छ ? चार महिनामा नौ खर्बको आयात, चार महिनामा विदेशी मुद्रा संचिती १६ खर्बबाट घटेर १० खर्बमा सीमित, पछिल्लो चार महिनामा विदेशी मुद्रा आम्दानी करिब ८ प्रतिशतले ह्रास । देशको चालु खाता साढे दुई खर्ब घाटामा । देशको वित्तिय अवस्थाको यथार्थ यस्ता अन्य केही चित्रहरु अर्थविदहरुले भन्न बाँकी छ । किनकि बजारमा बोल्नै डरलाग्दो अवस्था छ ।

सिंगो देशको अर्थतन्त्रमा भयंकर समस्या आउँदा सरकारसँग पुँजि बजार पुरै हरियाली अवस्थाको कल्पना गर्नु शोकमा मासु भातको अपेक्षा गरेझै हुनजान्छ । इमान्दार भएर विचार गर्नुहोस्, शोकमा मासुभात खोजे झै गर्नेहरुले सिंगो पुँजि बजारलाई कुन दिशातर्फ लाँदैछन् ?

समाधान के ?
गाली गलौजा होइन, साना लगानीकर्ताहरुको एकता जरुरी छ । आज देशको अवस्था चित्रण गर्ने अर्थविदलाई गाली गरेर लेखिएको स्टाटमा लभ, लाइक, कमेन्टको बाढी आउँछ तर, अर्को महिना बैंकले मार्जिन पुगेन ५० हजार रुपैयाँ ७ दिनभित्र ल्याउनुस् भनेको दिन १० हजार रुपैयाँ सापटी दिने कोही हुदैन । त्यसो भए समाधान के त ? साना लगानीकर्ताहरुको एकताबद्ध आवाज आजको जरुरी हो । आर्थिक संकट मात्रै छ, भोलि महाआर्थिक संकट आएमा के गर्ने ? अब कसरी सुरक्षित रहने ? त्यसैले पनि साना लगानीकर्ताहरुले देशको अर्थविदहरुसँग छलफल गरेर जारी आर्थिक संकटमा कम भन्दा कम क्षतिमा सीमित गर्नेतर्फ पो सोच्ने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*