अफ्रिका–भारतसहित ७० देशमा लगानी फैलाएको सिडिसी नेपाल छिर्यो, ग्लोबल आईएमई बैंकमार्फत तीन अर्ब नेपाल आउँदै

१ पुष २०७८, बिहीबार ०२:२९

काठमाडौं । छिमेकी मुलुक भारतसहित आधा दर्जन अफ्रिकी मुलुकका ठूला परियोजनामा लगानी गर्ने बेलायतका प्रख्यात सिडिसी वित्तिय संस्था नेपाल छिरेको छ । पब्लिक कम्पनी ग्लोबल आइएमई बैंकमार्फत सो विश्व प्रख्यात संस्था नेपाल छिरेको हो ।

बेलायतमा लामो समयदेखि दीर्घकालिन लगानीको क्षेत्रमा काम गर्दै आएको सीडीसी ग्रुपबाट नेपालको ग्लोबल आईएमई बैंकले २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपियाँ) ऋण लिने सहमती पत्रमा आज हस्ताक्षर भएको छ । बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रि–प्रेजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गरेका छन् ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु जस्तै जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने जनाएको छ ।

सीडीसीका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रिनी नागाराजनले नेपाल सधैं सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका । उनले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको समेत बताए । सरकारी तरहमा सहकार्य हुनुपर्ने उक्त संस्था निजि संस्थामार्फत नेपाल भित्र छिरेको हो । अब सो संस्थामार्फत ठूलो मात्रामा लगानी नेपाल भित्रन बाटो खुलेको छ ।

‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठूला विदेशी लगानी भित्राउँदै मुलुकको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ’ नागाराजनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका छन् । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*