पुँजि बजारलाई ‘बिरालोले मुसा खेलाए’ झै गर्दै माफिया, प्रचण्ड र अर्थमन्त्रीलाई देखाएर अर्बौ कुम्ल्याउने दाऊ

२९ मंसिर २०७८, बुधबार १०:५८

काठमाडौं । कमजोर नियामकको फाइदा उठाउँदै नेपालको पुँजि बजारलाई केही खेलाडीहरु ‘बिरालोले मुसा खेलाए’ झै आफ्नो स्वार्थ उपयोगमा प्रयोग गर्ने कार्य अझै रोकिएको छैन । विरोध गर्नेहरुले यस प्रकारको समाचार विश्लेषणलाई शेयर बजारको मूल्य घटाउने उद्देश्यले लेखिएको भनेर समेत भन्न सक्दछन् । जसरी अकारण हिजो शेयर बजारमा १३७ अंकको मूल्य बृद्धि भयो । यो प्राकृतिक कारोबार होइन । जसरी १३०० बाट एक वर्षमा ३२०० पुर्याइयो र ३२०० बाट तीन महिनामा २२०० मा शेयर बजार झारियो त्यसैको एउटा श्रृखंलाको रुपमा हिजोको १३७ अंकको बृद्धिलाई लिन सकिन्छ । अर्को घटनाक्रम कम्पनीहरुले लाभांश घोषणा गरेपछि शेयर मूल्यमा भारी गिरावट आएको छ । यसको कारण के हो ? लाभांश घोषणा गरेपछि यसको शेयर मूल्यमा केही न केही बृद्धि हुनुपर्ने थियो । किनभने २० प्रतिशत नै सही लाभांश त आउने नै भयो । त्यसैले नेपालको पुँजि बजारमा अस्वाभाविक खेलहरु भइरहेका छन् । उल्लेखित घटनाक्रमहरुको सुक्ष्म अध्ययन गरियो भने नेपालको पुँजि बजारलाई शेयर माफियाहरुले ‘बिरालोले मुसो’ खेलाए झै आफ्नो पक्षमा पार्ने गरेको पुष्टि हुन आएको छ ।

जब बिरालोले मुसाको सिकार गर्दछ । उसले पटक पटक छोड्दै पुनः आक्रमण गरी अन्ततः उक्त मुसोलाई आफ्नो आहारा बनाएर नै छोड्छ । नेपाली शेयर बजारमा पनि प्रभावकारी नियमन हुन नसक्दा ठूला माफियाहरुले यसै गर्ने गरेको पुष्टि आएको छ । नेपाल शेयर बजारमा पछिल्ला दिनहरुमा घटेका दुइ वटा घट्नाक्रमले शेयर बजार अझै पनि माफियाको चंगुलबाट मुक्त भइनसकेको पुष्टि हुन आएको छ । आम लगानीकर्ताहरुले शेयर बजारको चरित्र, प्रवृत्ति र यसको विशेषता नबुझेर लगानी गर्ने, धेरै समय होल्ड गर्ने र धेरै भएपछि बिक्री गर्ने सोच राखेका हुन्छन् । तर, माफियाहरु शेयरमा पसेर करोडौंको शेयर किन्ने मूल्य विभिन्न, बाहना, कारण, समाचार र सरकारी नीतिलाई देखाएर बृद्धि गर्ने गर्दछन् । मूल्य उच्चतम् बिन्दुमा पुर्याएर अर्बौको शेयरहरु भटाभट बिक्री गर्ने गरिन्छ । कोरोना महामारीका कारण घरमै बसेका आम सर्वसाधारण र अन्यत्र लगानी गर्न नपाएर बसेकाहरु समेत शेयर बजारमा लगानी गर्न आए । नेपालबाट मात्रै नभई नेपालभन्दा बाहिरबाट समेत लागनीकर्ताहरुले अर्बौ रुपैयाँ शेयरमा खन्याए ।

डिजाइनमा चलेका माफियाहरुले विस्तारै शेयर बिक्री गर्न थाले । दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुन पुग्यो । उनीहरुले आफ्नो सबै शेयरहरु बिक्री गरेर सिध्याए । शेयर त किन्नै पर्यो । जब माफियालाई शेयर किन्नुपर्ने भयो अनि शेयरको मूल्य घटाउन सुरु गरियो । १३०० बाट शेयरको मूल्य बढाउँदा विभिन्न बाहाना खोजे झै शेयरको मूल्य घटाउँदा समेत विभिन्न बाहना पारियो । त्यसको सिकार कहिले अर्थमन्त्री जनार्दन शर्मा बने त कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । शेयर बजार स्वतन्त्र विधिमार्फत मूल्य निर्धारण हुने बजार हो । स्वतन्त्रपूर्वक मूल्य निर्धारण गर्दा प्रत्येक व्यक्तिहरुले अनलाईनबाटै खरिद बिक्री गदै आइरहेका छन् । करिब पाँच लाख मानिसहरु यसको कारोबारमा आबद्ध छन् । यति ति कारोबार गर्नेहरु माओवादी पार्टीका पनि छन्, एमाले र कांग्रेसका पनि छन् । ठूला माफियाहरु कुनै राजनीतिक पार्टीका हुँदैनन्, पैसाका हुन्छन् ।

उनीहरुलाई शेयर किन्नु छ र लगातार शेयर मूल्य घटाउनु छ । त्यसको लागि जुन नेताले शेयर बजार बारे अभिव्यक्ति दिन्छन्, त्यसैको साहारा लिएर घटाइरहेका हुन्छन् । पछिल्लो समय प्रचण्ड माफियाहरुको यही डिजाइनको सिकार भएका हुन् । मुसा खेलाएकै शैलीमा बजारलाई खेलाउने खेलाडीहरुले आज प्रचण्डलाई सिकार बनाएका छन्, कुनै दिन केपी ओलीलाई सिकार बनाएका थिए । माफियाको लागि काम गर्ने विष्णु पौडेल आए, वाह ! वाह! भन्दै मूल्य बढाए । अहिले मूल्य घटाउनु छ, एकातिर ४५ लाख जनताको भोट रोक्छौं भन्दै ब्लाकमेल गर्दै एकातिर आन्दोलन उठिहरेको छ र अर्कोतर्फ माफियाहरु मूल्य घटाउने वातावरण सिर्जना गर्दैछन् ।

हिजोका दिनमा नेपाल धितोपत्र बोर्ड घेराउ गर्दागर्दै १०० अंकको छलाङ मारेको नेप्से मंगलबार लगानीकर्ताहरुले अर्थमन्त्रीलाई भेटघाट गरेकै दिन १३७ अंकले छलाङ् मार्नुलाई प्राकृतिक र अब लयमा फर्कियो भनेर विश्वास गर्नु ठूलो भुल हुनेछ । यो त लगानीकर्तामा निराशा आयो भनेर देखाउन माफियाहरुले मुसोलाई एकछिन छोडेको मात्रै हुन् ।

बैंकमा तरलता अभाव छ, त्यसको प्रत्यक्ष असर शेयर बजारमा पर्छ नै । यतिबेला सिंगो देश नै आर्थिक संकटतर्फ अघि बढिरहेको सन्दर्भमा शेयर बजार बुम हुनै सक्दैन । घरमा शोक शेयर बजारका लगानीकर्ताहरुले मासु भात खोज्नु कदापि प्राकृतिक हुँनै सक्दैन । यस्तो समयमा शेयर १३७ अंकले बृद्धि भयो भनेर रमाउनु, क्षणिक आनन्द र आत्मरति मात्रै हुनेछ ।

आजको मुख्य ध्यान सिंगो देश आर्थिक संकटतर्फ अघि बढिरहेको समयमा पुँजि बजारलाई कसरी कम क्षतिमा जोगाउने भन्नेतर्फ नै केन्द्रित हुनुपर्दछ । भुतपूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सेटिङ गरेर माफियाहरुले बेलुन जसरी फुलाएको शेयर बजारमा ढिलो चाँडो समस्या त आउने नै भयो । तर, यसको समाधान अर्थमन्त्री वा कुनै नेतालाई गाली गरेर समाधान हुँदैन ।

सैद्धान्तिक रुपमा प्रचण्ड समाजवादी अर्थव्यवस्था अपनाउने राजनीतिक पार्टीका अध्यक्ष हुन् । उनले गर्ने भाषणहरु यस्ता कुराहरु आउनु स्वाभाविक नै हो । यही कारण सिंगो पुँजिबजार धरापमा परेका छैन । नेपालको संविधानमै समाजवादी अर्थव्यवस्था उन्मुख हुनेछ भन्ने वाक्य लेखिएको छ । समाजवादी अर्थव्यवस्थामा अनुत्पादक क्षेत्रलाई राज्यले धेरै प्राथमिकता दिँदैन । अझ कम्युनिष्ट पार्टीका कुनै पनि नेपालले पुँजिबजारको वकालत गर्दैन । सत्य के हो भने नेपालको पुँजि बजारमा गरिब, किसान, मध्यम बर्गले आफ्नो गाँस काटेर एक एक हजार गरेर जम्मा गरेको अर्बौ रुपैयाँ लगानी रहेको छ । लाखौं सर्वसाधारणको लगानी रहेको पुँजि बजारका विषयमा गोलमटोल हिसाबले अभिव्यक्ति दिन चाही गलत हो । नेपालको शेयर बजारमा साना लगानीकर्ता, मझौला लगानीकर्ता र मध्यमस्तरका लगानीकर्ताहरुको संख्या लाखौं रहेको कुरा कुनै पनि राजनीतिक पार्टीले भुल्नु हुँदैन । यसले पुँजि निर्माणमा प्रोत्साहित गरेको र आजको अवस्थाको अर्थव्यवस्था सिर्जना गर्न ठूलो भूमिका निर्वाह गरेको कुरा भुल्नु हुँदैन ।

अहिलेको जटिल परिस्थिति आम लगानीकर्ताहरु संयमित हुनु जरुरी छ । बियरिस सकियो भनेर हतार गरेर किन्ने र मार्केट क्र्यास हुन लाग्यो भनेर हतार हतार बिक्री गर्ने प्रवृत्ति नै शेयर बजारको घातक पक्षहरु हुन् । धैर्यता एकदमै जरुरी छ । माफियाहरु प्रचण्ड, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकको गभर्नर वा धितोपत्र बोर्डलाई देखाएर शेयर बजारबाट अर्बौ रुपैयाँ कुम्ल्याउने योजनामा छन् । त्यसैलै एकदमै सचेत हुनुपर्ने समय आएको छ । बजारमा प्रवेश गर्न, शेयर खरिद बिक्री गर्न हतार गरेर जुवा खेले झै जोखिम मोल्ने हो भने भोलिका दिनमा सडकमा पुगेर भनेर टाउको फुटाएर वा कुनै पार्टीका नेता वा मन्त्री तथा गभर्नरलाई गाली गरेर डुबेको रकम फिर्ता आउँदैन, सबैलाई चेतना भया ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*