८९ करोडको लगानीमा बीमा समितिको नयाँ भवन बन्ने, मंसिर २७ गते अर्थमन्त्री शर्माले शिलान्यास गर्ने

२४ मंसिर २०७८, शुक्रबार १२:०१

काठमाडौं । बीमा समितिले अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आफनौ नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको छ ।

ललितपुरको कुपण्डोलमा रहेको आफ्नै जग्गामा नयाँ भवन निर्माण गरिने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्टलाई बताए । मंसिर २७ गते भवन निर्माणको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम तय भईसेकेको उनले बताए ।

प्रस्तावित नयाँ भवन पूर्ण रूपमा अपाङ्गमैत्री र भूकम्प प्रतिरोधात्मक हुने समितिको भनाइ छ । साथै, नयाँ भवन बनेपछि हालको भवनलाई भत्काएर उक्त ठाउँमा बगैंचा बनाउने समितिको योजना छ ।उक्त भवन निर्माणको जिम्मेवारी सहरी विकास तथा भवनलाई दिईसकेको छ । आठ तले हुने भनिएको उक्त भवनको दुई तला जमीनमुनि रहनेछ । जहाँ ग्राउण्ड फ्लोरमा मोटर पार्किङको व्यवस्था रहने छ । साथै, पहिलो तलामा चमेना गृह र कार्यक्रम हल हुने प्रस्तावित नक्सामा उल्लेख छ ।

यस्तै, जमीनको सतहमा आउने दोस्रो तलामा दुईओटा अन्तरराष्ट्रिय स्तरको सम्मेलन हल हुने बताइएको छ । उक्त हलमार्फत पाँच तारे होटलसरहको सेवा सुविधा प्रदान गर्न सकिने समितिको भनाइ छ ।त्यसमाथिका तलामा समितिको कार्यालय हुने बताइएको छ । समितिको हालको भवन सानो हुँदा संस्थागत काम गर्न गाह्रो भएको छ । साथै, समितिले कार्यरत कर्मचारीलाई आवश्यक ठाउँ अपुग भएपछि अस्थायी भवन निर्माण गरेर काम चलाउँदै आएको छ ।

यस्ता समस्यालाई दृष्टिगत गर्दै नयाँ भवन निर्माणको परिकल्पना गरिएको समितिको भनाइ छ । नयाँ भवन निर्माण भएपछि संस्थागत काम गर्न सहज हुने अपेक्षा लिएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*