गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल

२२ मंसिर २०७८, बुधबार १४:१९

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् ।

देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष सिलवालले भने, ‘प्राकृतिक विपत्ति परेपछि आर्थिक सहायता अनुदान दिनुको साटोमा त्यस्ता बर्गलाई कुनै विधिमार्फत बीमासँग टाईअप गरिदिनु सक्यौ भने उसको सम्पत्तिमा हुने क्षतिको रकम प्राप्त गर्दछ र त्यसले गरिबी बढ्न दिँदैन ।’ उनले बीमाको ठूलो महत्व रहेको बताउँदै भने, ‘एउटा गरिबको घर भत्के गयो भने उसले पुननिर्माण गर्न ५० हजार पाउँछ भने त्यसले ठूलो काम गर्दछ । उक्त परिवार सडकमा पुग्दैन र गुजारा चल्ने घर बनाउन सक्छ ।

अध्यक्ष सिलवालले गरिबी घटाउने योजनाका लागि समेत बीमा कम्पनीहरुले काम गर्नुपर्ने बताए । उनले सबैभन्दा ठूलो हुने होडबाजी छोडेर जनताको सेवा गर्ने होडबाजीमा लाग्न बीमा कम्पनीहरुलाई आह्वान गरेका छन् । उनले भने, ‘माथि पुग्नु त ठूलो कुरा हो, तर मैले कसको ? कुन बर्गको ? सेवा गरेको हो यो विषय निकै महत्वपूर्ण छ ।’

अध्यक्ष सिलवालले बीमा सेवाको मुख्य लक्ष्य गरिब जनता हुनुपर्ने बताए । अध्यक्ष सिलवालले बीमा क्षेत्रमा नयाँ सोचको आवश्यक भएको बताउँदै नेको इन्स्योरेन्सको नयाँ भवनबाट सञ्चालन हुने कार्य नयाँ सोचका साथमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई गलतलाई गलत भन्न सक्नुपर्ने बताए । उनले अण्डरराईटिङका कर्मचारीहरु बीमितको कन्सर्नप्रति जिम्मेवार भएर काम गर्न आह्वान गरेका छन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीका अध्यक्षहरुले बीमा कम्पनीको मूल मर्मलाई बुझेर योजना बनाउन र नीति निर्माण गर्न निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*