पुँजि बजार क्र्यास हुने दिशातर्फ अघि बढ्दै, लगानीकर्ताहरुले धैर्यता गुमाए अकल्पनिय दुर्घटनामा पर्ने खतरा

२० मंसिर २०७८, सोमबार ११:५३

काठमाडौं । सुन्दा अप्रिय लाग्न पनि सक्छ, जु कुरा नहोस् भनेर लगानीकर्ता, नियामक निकाय र सरकारका अन्य एजेन्सीहरु संवेदनशील बन्दै आइरहेका थिए, अन्ततः त्यही दिशामा नेपालको शेयर बजार अघि बढेको छ ।

लगानीकर्ताहरुले तत्काल संयमता नअपनाए नेपालको शेयर बजार अप्रिय र कसैले नसोचेको दिशातर्फ अघि बढेको संकेतहरु देखिएका छन् । कारोबार न्यून भई लगानीकर्तामा आएको निराशा र केही लगानीकर्ताहरुले संयमतता गुमाउँदा शेयर बजार क्र्यास हुने दिशातर्फ अघि बढेको छ ।

गत भदौंमा ३२०० को बिन्दुमा पुगेको नेप्से आज २५०० बाट तल भरेको छ । करिब तीन महिनाको अवधीमा २१ प्रतिशतले मार्केटमा गिरावट आएको छ । यो गिरावट कति तलसम्म पुग्छ र कहिले माथितिर उकालो लाग्छ अहिले नै भन्न सक्ने अवस्था छैन । बैंकमा तरलता अभाव हुँदा लगानीकर्ताहरुले भटाभट शेयर बिक्री गरिरहेका छन् । तर, ठूलो कारोबार समेत नहुँदा लगानीकर्ताहरुले शेयर बिक्री गर्नै नसक्ने अवस्था आएको हो कि ? अर्को प्रश्न चिन्ह खडा भएको छ । दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेकोमा पछिल्ला दिनहरुमा उच्च अंकले घटेर तीन चार अर्बमा सीमित हुँदै आएको छ । लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर कारोबार गर्दै आएकोमा पछिल्ला दिनहरुमा बैंक आफै टाट उल्टिने अवस्था आएकोले पनि त्यसको असर शेयर बजारमा परेको देखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण लगानीकर्ताहरुले शेयर बजारबाट आफ्नो लगानी फिर्ता गर्न खोज्दा शेयर बजारमा लगातार गिरावट आइरहकेको छ । हिजो नेप्से ७२ अंकको उच्च गिरावटको दोस्रो दिन कारोबार सुरु भएको ४५ मिनेटमै ५६ अंकको गिरावट आई २५०० को बिन्दुबाट तल झरेपछि लगानीकर्ताहरु हतोत्साहित बन्न पुगेका छन् ।

बाहिर विरोध गर्नेहरुले ४–१२ को कारण शेयर मूल्य घटेको भनिए पनि मूल कारण बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्या नै हो । नेपालको बैंकिङ क्षेत्रमा उत्पन्न तरलता कहिले हल हुन्छ भनेर यसै भन्न सकिने अवस्था छैन । बैंकमा तरलता समस्या हल नभएसम्म पुँजि बजारमा आएको ह्रास बृद्धि हुन सम्भव देखिदैन ।

पछिल्लो समय लगानीकर्ताहरु समेत शेयर बजारमा सक्रिय हुन छोड्नु पुँजि बजारको लागि सुखद संकेत होइन । कारोबार गर्दा शेयर मूल्य घटबढ हुनु स्वाभाविक प्रक्रिया भएपनि शेयर बजारबाट धेरै लगानीकर्ताहरु पलायन भएमा यस क्षेत्रको सुधारका लागि निकै समय कुर्नुपर्ने जोखिम हुन्छ । अन्य अवस्थामा अस्वाभाविक रुपमा घटबढ हुने शेयर बजार यतिबेला स्वाभाविक रुपमा बैंकमा उत्पन्न समस्याको कारण घटेको कुरामा दुई मत छैन ।

बैंकिङ क्षेत्रमा आउने तरलता समस्या लामो समयसम्म नरहने र केही समयमा सहज हुने वित्तिकै पुँजि बजारमा पुनः सुधार आउने सम्भावनालाई मध्येनजर गर्दै लगानीकर्ताहरुले संयमता अपनाउनु पर्नेअवस्था आएको छ । हुन त शेयर बजार ओरालो लाग्दा शेयर बिक्री गरेर नगदमा रुपान्तरण गर्ने र घटेको बेलामा किन्ने शेयर बजारको नियम नै हो । तर, यो फोहोरी खेलमा लागेर सिंगो पुँजि बजार ध्वस्त हुनेतर्फ सबै सचेत हुनुपर्दछ ।

२०७७ सालमा शेयर बजारमा बृद्धि हुँदा १३०० को रेसियोमा रहेको नेप्से अझै पनि २४०० को बिन्दु भन्दा माथि हुनु १८ महिनाको तुलनामा दोब्बर बढि नाफा नै हो । त्यसैले यतिबेला पुरानो शेयर भएकाहरुले भटाभट बिक्री गर्दा शेयरको मूल्य निकै तल झरेको र ३२०० हुँदा शेयर किनेकाहरुले बजारमा हस्तक्षेप गर्न बिक्री नगरेको पनि हुन सक्दछ ।

साथै शेयर बजारमा गिरावट आएको मौका छोपेर माफियाले आफूलाई चाहिएको शेयर किन्न समेत कर्नरिङ गरेर मूल्य घटाई अर्को दिन पुनः मूल्य बढाउने खेल पनि हुनसक्ने हुँदा त्यसतर्फ समेत सचेत हुनु आवश्यक हुन्छ ।

यसअघि माफियाहरुले आफ्नो शेयर बिक्री गर्न नियामक निकायसँग मिलेर अस्वाभिक रुपमा शेयर मूल्य बृद्धि गरेका कारण पनि अहिले सिंगो अर्थतन्त्रमा आएको प्रभावको असर शेयर बजारमा पर्दा ठूलो समस्या देखिन आएको छ । यसको समाधान नियामक निकायले गरेर सम्भव छैन । देशको कूल ग्राहस्थ उत्पादन बराबरको उचाईमा पुगेको शेयर बजारमा राज्य चाहेर पनि सुधार गर्न सक्ने देखिदैन । अहिलेको अवस्थालाई स्वीकार गर्दै शेयर बजारको चरित्र अनुसार कारोबार गर्दै अघि बढ्नुपर्ने बाध्यता लगानीकर्ताहरुको अगाडि आएको छ । लगानीकर्ताहरुले धैर्यतापूर्वक, अत्यन्तै संवेदनसिल भई कारोबार नगरेमा शेयर बजारमा आम लगानीर्ताहरुले नसोचेका बिन्दुमा पुगेर पीडादायी दुर्घटनामा पर्ने संकेतहरु देखिएको छ ।

धैर्यता गरौं, अप्ठेरो परेकाहरु बाहेकले सस्तोे शेयर बिक्री नगरी सामूहिक रुपमा बजारमा हस्तक्षेप गर्न सकिन्छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा, क्र्यास हुने दिशातर्फ अघि बढेको शेयर बजारबाट अत्तालिने भन्दा पनि सम्हालिने बेला आएको पो हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*