बीमा समितिविरुद्धमा तत्काल संघर्ष घोषणा गर्न माग, बीमक संघको बैठक बस्दै

१२ मंसिर २०७८, आईतवार ०७:४०

काठमाडौं । नेपालका बीमा विज्ञ, नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुले बीमा समितिको नैतिकहिन, नीतिगत भ्रष्टाचार र बीमाको आधारभूत सिद्धान्त विपरितको कार्यका विरुद्धमा तत्काल आन्दोलनमा जानुपर्ने माग गरेका छन् । यसैबीच, बीमा समितिले गरेको निर्णयका विषयमा छलफल नेपाल बीमक संघको बैठक आज बस्दैछ ।

बीमापोष्टले गरेको टेलिफोन संवादमा अधिकांश बीमा कम्पनीका सिइओहरुले तत्काल आन्दोलनमा होमिनुको विकल्प नभएको र यसले सिंगो बीमा व्यवसाय बदनाम र अन्तर्राष्ट्रिय जगतमा पुनर्बीमा व्यवसाय नै नपाउने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । एक जीवन बीमा कम्पनीका सिइओले निर्जिवन बीमा र जीवन बीमा कम्पनीहरु एक ठाउँमा उभिएर बीमा समितिको निर्णयका विरुद्धमा सामूहिक र एकताबद्ध प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘यो हदसम्मको, घृणित, भत्र्सनायोग्य काम नियामक निकायबाट होला जस्तो लागेको थिएन । अब जीवन बीमक संघ र बीमक संघ एक ठाउँमा बसेर सामूहिक निर्णयसहित बीमा समितिका विरुद्धमा कदम चाल्नुपर्दछ ।’

एक निर्जिवन बीमा कम्पनीका सिईओले वर्तमान नेपाल बीमक संघको नेतृत्वले आन्दोलन घोणा गर्न ढिलाई गरेको आरोप लगाएका छन् । शुक्रबार नै बैठक बसेर बीमा समितिमा पुगि बीमा कम्पनी बन्द गरेर चावी बुझाउने निर्णय गर्न बीमक संघले किन सकेन ?

बीमा विज्ञ सुकल्याण पराजुलीले नियामक निकायमा हुने राजनीतिक नियुक्तीका कारण बीमा क्षेत्रमा कहिले काँही अन इथिकल निर्णय पनि हुन सक्ने भएको बीमा क्षेत्रमा अन्य संघ संस्थाहरुले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । जलविद्युत बीमा विज्ञ पराजुलीले बीमापोष्टसँगको संक्षिप्त कुराकानीमा भने ‘बीमा समितिबाट हुने त्यस्ता सम्भावित गलत निर्णयहरुबाट सिंगो बीमा क्षेत्रलाई जोगाउन बीमा क्षेत्रमा छाता संगठनहरु स्थापना भएका हुन् । बीमा समितिसँग मिलेर काम गर्ने भन्दा पनि बीमा क्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्दछ ।’ पराजुलीले बीमा समितिबाट हुने गलत निर्णयहरुका विरुद्धमा सामूहिक आवाज उठाउनकै लागि नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ जस्ता संस्थाहरुको गठन भएको बताउँदै बीमा समितिबाट भएको गलत निर्णय सच्याउन सामूहिक रुपमा पहल गर्नुपर्ने बताए । ‘बीमा समितिसँग तत्काल वार्तामा बस्नुपर्दछ र छलफलमार्फत समस्याको समाधान निकाल्नु पर्दछ । बीमा समिति मान्दैन, अटेर गर्छ र गलत निर्णय फिर्ता हुँदैन भने बीमक संघका पदाधिकारीहरुले सामूहिक रुपमा राजिनामा गरेर आन्दोलनमा उत्रन ढिलाई गर्नु हुँदैन’ पराजुलीले भने ।

उनले बीमा समितिले भनेको मानेकै आधारमा आज कोरोना बीमाको अर्बौ रुपैयाँ दायित्व सिर्जना भएको छ भन्दै उक्त निर्णय सच्याउन बीमक संघले पहल नगरेको स्मरण गराउँदै यस पटक त्यस्तो गल्ती नदोहोर्याउन बीमक संघ तथा जीवन बीमक संघलाई आह्वान गरेका छन् ।

 

 

One thought on “बीमा समितिविरुद्धमा तत्काल संघर्ष घोषणा गर्न माग, बीमक संघको बैठक बस्दै

  1. Kalavati Paudel says:

    अहिलेको बीमा समितिको अध्यक्ष हिमालयन रि को एजेण्टको भूमिकामा देखिए । लकडाउनको बेला अरू कम्पनीलाइ हटाइ नामै नसुनेको हिमालयनलाइ लाइसेन्स बांडे । अहिले उसको व्यापार बढाउन बीमाको सिद्धान्त बिपरित उसैलाइ मात्र हुने गरी नीतिगत निर्णय गराए । उनी रहेसम्म यस्ता काण्डहरू भैरहने र बीमा क्षेत्र ध्वस्त हुने देखियो, नेपालको अन्तरार्ष्ट्रिय विश्वास नामेट नै हुने भयो । अब सिइयोहरूले जागिरको पर्वाहा नगरी यस बिरूद्ध कडा कदम नचाले भविश्यमा नेपालको बीमाक्षेत्र सिध्दिने छ । पुनर्बिमा बापत बिदेशिएको हिसाव मात्र देखाउने, उताबाट रिकभर भएको हिसाव लुकाउने, हिजो खोलेको एउटा फुच्चे कम्पनीले नेपालको बीमा क्षेत्र धान्न सक्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*