पुँजिगत खर्च बढाउन अर्थमन्त्री शर्माको आग्रह

८ मंसिर २०७८, बुधबार ११:२९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी निकायलाई पुँजिगत खर्चमा ध्यान दिन आग्रह गरेका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले पुँजिगत खर्च बृद्धिका लागि सबै सरकारी निकायलाई आग्रह गरेका हुन् ।

पुँजीगत खर्च गर्न नसकेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन् । कार्यक्रममा मन्त्री शर्माले विकासका लागि केही क्षेत्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको पनि बताए ।

अर्थमन्त्री बने लगत्तै शर्माले पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना अघि सारेका थिए । तर चार महिनाको अवधिमा जम्मा ५.५० प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । जबकी अर्थमन्त्रीकै लक्ष्यअनुसार हुन्थ्यो भने २० प्रतिशत पुँजीगत खर्च भइसक्नुपर्ने थियो । सो नतिजा नआएपछि अब अर्थमन्त्री एक्सन प्लान बनाएर काम गर्ने योजनामा रहेका छन् ।

मन्त्री शर्माले लगानी अभिवृद्धि गर्न सरकारले आवश्यक प्रक्रिया शुरु गरिसकेको पनि दाबी गरेका छन् । उनले निजी क्षेत्रआफ्नो स्वार्थ पूर्तिका लागि लाग्न नहुने भन्दै देशहितमा केन्द्रित रहेर काम गर्नुपर्ने बताए । उनले विकास निर्माणको काम गर्नका लागि साधन स्रोतको समस्या नभएको बरु व्यवस्थापनमा समस्या भएको बताए ।

कार्यक्रममा नाफिजले तयार पारेको ‘अर्थचित्र’ विमोचनका साथै आर्थिक अभियान दैनिक र न्यू बिजनेश एजका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*