मंसिर १० गतेदेखि पाँच लघुवित्तको साधारणसभा भटाभट हुँदै, कुनले कति लाभांश दिदैछ ?

६ मंसिर २०७८, सोमबार १२:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभा मंसिर १० गतेदेखि भटाभट हुने भएको छ । यी कम्पनीहरुले विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

साथै यसअघि कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश समेत पारित गर्नेछ ।

मंसिर १० गतेदेखि पालैपालो साधारण सभा आह्वान गरेका कम्पनीहरुमा क्रमशः आरएसडिसी लघुवित्त वित्तीय संस्था मंसिर १० गते,  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मंसिर १६ गते, महिला लघुवित्त वित्तीय संस्था मंसिर २२ गते,  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मंसिर २४ गते  र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मंसिर २८ गते रहेका छन् ।

आरएसडिसी लघुवित्त

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर १० गते शुक्रबार बिहानको ९ बजे एशियन होटल, कालिकानगर, बुटवल, रुपन्देहीमा बस्नेगरी आह्वान गरेको छ ।उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको ०.५२६३ प्रतिशतले हुने ३८ लाख ५२ हजार ४२० रुपैयाँ नगद लाभांश र १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँ बराबरको बोनश शेयर गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले गत आर्थिक बर्षको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र आर्थिक बर्ष २०७७।०७८ को वार्षिक आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव अगाडि लैजानेछ । साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक ३० गते नै बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको सोही प्रतिशत लाभांश पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा मंसिर १६ गते बिहिबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजी ८७ करोड ६८ लाख रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन छलफल, सोही आवको नाफा।नोक्सानको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, चुक्तापूँजी बृद्धि गरी ९६ करोड ४४ लाख रुपैयाँ पुर्याउने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते नै बुकक्लोज गरिसकेको छ । जसअनुसार मंसिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

महिला लघुवित्त
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथौ वार्षिक साधारण सभा मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट धुलिखेल–३, काभ्रेमा विहान १०ः३० बजे बस्नेगरी आह्वान गरेको छ ।

सभाले संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वाषिक प्रतिवेदनउपर छलफल गर्ने, आव २०७८।०७९ को लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट २ जना संचालकहरुको निर्वाचन गरी नियुक्त गर्ने एजेण्डा रहेको छ । कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको उक्त बम्पर लाभांश र सभामा भाग लिन मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा मंसिर २४ गते शुक्रबार होटल टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा विहान ११ बजेदेखि बस्नेगरी आह्वान गरेको छ ।

उक्त सभाले संचालक समितिले शेयरधनीहरुलाई वितरण गर्नको लागि प्रस्ताव गरेको कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६३१६ प्रतिशत (कर प्रयोजका लागि) गरी कुल २१.०५२६३१६ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले अन्य इजाजतप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाम्भ वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण आवश्यक कार्य अगाडी बढाउनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको नाफा।नोक्सान हिसाब र नगद प्रवाहको विवरण छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८।०७९ को लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभको एजेण्डा रहेको छ । कम्पनीले मंसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्नपीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने छ । साथै, कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग मर्जर तथा प्राप्ती गर्ने विषय पनि छलफल गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*