रिलायबल नेपाल लाइफको छलाङ, जीवन बीमा कोष शतप्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

२९ कार्तिक २०७८, सोमबार १०:१४

काठमाडौं । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । कम्पनीले जीवन बीमा कोष शतप्रतिशत भन्दा बढिले बृद्धि गर्न सफल भएको छ भने बीमा व्यवसाय ७० प्रतिशतले बृद्धि गर्न सफल भएको आज प्रकाशित वित्तिय विवरणमा देखिएको छ ।

कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । सो विवरण अनुसार जीवन बीमा कोष १००.२४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको समीक्षा अवधीमा एक अर्ब ४१ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेको कम्पनीले चालु आवको प्रथम त्रैमाससम्ममा तीन अर्ब तीन करोड ४१ लाख ३२ हजार रुपैयाँ जम्मा गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्व्पूर्ण मानिन्छ । कम्पनीले जगेडा कोष ३० प्रतिशतले बृद्धि गरेको छ भने महाविपत्ति कोष १००.१३ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । कम्पनीको समग्र कोषको आकार ७८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा गरेको विस्तारका कारण कम्पनीको समग्र कोषको आकार झण्डै चार अर्ब अर्थात तीन अर्ब ९६ करोड ७९ लाख ७२ हजार १६४ रुपैयाँ पुगेको छ ।

दीगो बीमा व्यवसायका लागि रणनीतिक योजनाका साथ अघि बढिरहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासमा गत आवको तुलनामा ७० प्रतिशतले बीमा व्यवसाय विस्तार गर्न सफल भएको छ । गत आवको प्रथम त्रैमासमा ५४ करोड ६३ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको पहिलो तीन महिनामा ९२ हजार ८९ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । नयाँ कम्पनी रिलायबल नेपाल लाइफको बीमा शुल्कमा गरेको प्रगतिले कम्पनीको प्रगति आगामी दिनमा अझै बढ्ने देखिएको छ ।

कम्पनीको खुद दावी भुक्तानी २४.७९ प्रतिशतले बढेको छ । गत आवमा १९ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा २३ करोड ८१ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

त्यस्तै कम्पनीको लगानी, कर्जा, बीमालेख धितोमा कर्जा र अन्य आयमा ३९ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा १२ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको तथ्याङ्कमा देखिएको छ ।

कम्पनीको व्यवस्थापन खर्च १६० प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो तीन महिनामा पाँच करोड ६१ लाख खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १४ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले अभिकर्तालाई दिने कमिशन ६९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी र अभिकर्ता कमिशनको प्रतिशत मेल खाएको समेत देखिएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुले गत आवमा सात करोड ९२ लाख रुपैयाँ कमिशन बुझेकोमा यस आवमा १३ करोड ३९ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

कम्पनीको खुद नाफा १३.१० प्रतिशतले बृद्धि भएको छ । गत आवमा छ करोड ५९ लाख खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा सात करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१.३० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१.२८ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ५४८.३३ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*