महालक्ष्मी लाइफको वित्तिय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष ५८ प्रतिशतले बृद्धि हुँदा बीमा व्यवसाय ३९% ले फैलियो

२९ कार्तिक २०७८, सोमबार ०९:२७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्र्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकारमा डेढ गुणा भन्दा बढि रकम संचिती गर्न सफल भएको छ भने खुद बीमा शुल्क आम्दानी समेत बृद्धि गर्न सफल भएको छ ।

सबैभन्दा पछि दर्ता र अनुमति पाई कारोबार गर्दै आएको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमाससम्ममा जीवन बीमा कोषमा एक अर्ब ५३ करोड ७८ हजार ६७ हजार ६५१ रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीले गत आवमा जम्मा ९६ करोड ८१ लाख जीवन बीमा कोषमा संचिती गरेकोमा चालु आवमा उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जगेडा कोष र महाविपत्ति कोष दोब्बर बनाएको छ । कम्पनीको जगेडा कोषमा २० करोड ८९ लाख ६३ हजार ४६८ रुपैयाँ संचित गरेको छ भने महाविपत्ति कोषमा दुई करोड ३२ लाख १८ हजार १६४ रुपैयाँ जम्मा गरेको छ । कम्पनीको कूल कोषको आकार एक अर्ब ७७ करोड ४९ हजार २८३ रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार ६३ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष नै महत्वपूर्ण हुन्छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ३९ प्रतिशतले बृद्धि भएको आज प्रकाशित वित्तिय विवरणमा झल्किएको छ । गत आवको तीन महिनामा जम्मा २३ करोड ३५ लाख ९१ हजार ६९६ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३२ करोड ५२ लाख ७१ हजार ४८४ रुपैयाँ खुद बीम शुल्क आम्दानी गरेको छ । कम्पनीको खुद दावी भुक्तानीमा बृद्धि भएको छ । गत आवमा जम्मा १९ लाख सात हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेकोको कम्पनीले चालु आवको पहिलो त्रैमासमा चार करोड ६० लाख ७७ हजार ११६ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । नयाँ कम्पनी भएकोले कम्पनीको दावी भुक्तानी बढेको देखिएको हो ।

कम्पनीको आम्दानी ४० प्रतिशतले बृद्धि भएको लगानी, कर्जा, बीमालेख धितोमा कर्जा र अन्य आय समेत गरी गत आव पाँच करोड ३७ लाख ८४ हजार १८९ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको तीन महिनामा सात करोड ५५ लाख २० हजार ७९८ रुपैयाँ समग्र आम्दानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च सामान्य मात्रै बृद्धि भएको छ । गत आवमाा पाँच करोड ३८ लाख ८४ हजार ६०१ रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा पाँच करोड ५८ लाख ४७ हजार ७८३ रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद नाफामा सामान्य सुधार मात्रै देखिएको छ । खुद दावी भुक्तानी बढेका कारण कम्पनीको खुद नाफामा सामान्य सुधार मात्रै देखिएको हो । गत आवको प्रथम त्रैमासमा जम्मा दुई करोड ४२ लाख मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा दुई करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीको कूल कायम रहेको बीमा पोलिसीको संख्या झण्डै दोब्बर बढेको छ । गत आवमा १५ हजार ९४० वटा बीमा पोलिसी रहेको कम्पनीमा यस आवमा ३० हजार २१८ वटा बीमा पोलिसी रहेको छ ।

कम्पनीको दावी भुक्तानी हुन बाँकी रकम ४१ लाख ६६ हजार मात्रै बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*