गुराँस लाइफको जीवन बीमा कोष १० अर्बमाथि, बीमित र अभिकर्ता निराश हुँदा दावी भुक्तानीको अवस्था चिन्ताजनक

२९ कार्तिक २०७८, सोमबार ०८:१७

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । सो कम्पनीको आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा १० अर्ब आठ ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ संचिति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार २७.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवको समीक्षा अवधीमा जम्मा आठ अर्ब ५१ करोड दुई लाख ८५ हजार रुपैयाँको कोष रहेको कम्पनीले यस वर्ष सो उपलब्धी हासिल गरेको हो । जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोष नै महत्वपूर्ण हुन्छ । बीमितले बोनस र कम्पनीको स्थायित्व जीवन बीमा कोषको महत्वपूर्ण भूमिका रहन्छ ।

कम्पनीको जगेडा कोष दुई प्रतिशतले बृद्धि भएको छ भने महाविपत्ति कोष २४ प्रतिशतले बृद्धि भई समग्र कोषको आकार २६ प्रतिशतले बृद्धि हासिल गर्दै ११ अर्ब ५१ करोड भन्दा माथि पुगेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा व्यवसाय भने खुम्चिन पुगेको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी १०.३० प्रतिशतले ह्रास आएको छ । गत आवमा ९६ करोड २४ ७२ हजार खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा घटेर ८६ करोड ३३ लाखमा सीमित हुन पुगेको छ । कम्पनीको खुद दावी भुक्तानी ३५० प्रतिशतले बृद्धि भएकोले कम्पनीको व्यवस्थापनमाथि प्रश्न चिन्ह मात्रै उठेको छैन बीमा अभिकर्ता तथा बीमितहरु निराश बन्न पुगेकोले दावी भुक्तानी बढेको हुनसक्ने अनुमान छ । कम्पनीले गत आवको समीक्षा अवधीमा १४ करोड २९ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा ६४ करोड ३७ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु निराश भएर व्यवसाय विस्तार गर्न कठिन अवस्थामा पुगेको तथ्याङ्कले देखाएको छ । बीमा अभिकर्ताहरुले पाउने कमिशन चालु आवको तीन महिनामा ९.२९ प्रतिशत घटेको छ । गत आवमा १० करोड ७७ लाख ९६ हजार रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको कम्पनीले चालु आवमा घटेर नौ करोड ७७ लाख ७८ हजारमा सीमित भएको छ । साथै कम्पनीको कूल कायम रहेको बीमा पोलिसी संख्या समेत घटेको छ । गुराँस लाइफमा गत आवमा एक लाख ६९ हजार ७०८ वटा पोलिसी रहेकोमा चालु आवको तीन महिनासम्ममा एक लाख ५७ हजार ८२० वटा मात्रै पोलिसी कायम रहेको छ ।

कम्पनीले व्यवस्थापन खर्च समेत घटेको प्रकाशित वित्तीय विवरणमा देखिएको छ । कम्पनीले गत आवको तीन महिनामा १० करोड छ लाख ६२ हजार रुपैयाँ खर्च गरेकोमा चालु आवको तीन महिनामा नौ करोड १३ लाख ७८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीको खुद नाफा समेत सामान्य अंकले घटेको छ । गत आवमा चार करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा चार करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा थपघट हुनसक्ने भएकोले वित्तिय विवरणमा प्रकाशित मुनाफालाई अन्तिम मान्नु हुँदैन ।

समग्रमा कम्पनीको जीवन बीमा कोष अझै बलियो रहेले तथा खराव बीमा व्यवसाय हटाउँदै बीमा अभिकर्ताहरुको मनोबल उच्च बनाएर अघि बढेमा पुरानो कम्पनी समेत भएकोले छोटो अवधीमा नै प्रगति पथमा लम्किने सम्भावना प्रबल छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*