अर्थमन्त्री सहितको छलफलमा तरलता समस्याको समाधान निस्किएन, पुँजिगत खर्च बढाउन बैंकका सिइओहरुको माग

२६ कार्तिक २०७८, शुक्रबार १६:२९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै बाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्याको बारेमा छलफल गरेका छन् । छलफलमा तरलता संकटका बारेमा निकै लामो छलफल भएपनि निकास भने निकाल्न नसकिएको एक बैंकका सिइओले बीमापोष्टलाई जानकारी दिए ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भएको छलफलमा सबै बैंकका सिईओहरुले आफ्नो धारणा राखेका थिए भने अर्थमन्त्रीले समस्या समाधानका सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए । आजको छलफलमा अधिकांश बैंकका सिईओहरुले सरकारले पुँजिगत खर्च बढाउन हर सम्भव प्रयत्न गर्नुपर्ने सुझाव दिएका थिए । साथै केही बैंकका सिईओहरुले स्थानीय तहमा जाने रकमलाई तरलतामा गणना गर्न सकिने गरी सुविधा दिनुपर्ने माग गरेका छन् । सो सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिँदै सकेसम्म र मिलेसम्म आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहमा जाने रकमलाई निक्षेपमा शत प्रतिशत गणना गर्न दिने विषयमा सकारात्मक देखिएको आजको बैठकमा सहभागी एक जनाले बीमापोष्टलाई बताए ।
बैंकहरुले नयाँ ऋण दिन नसक्दा अर्थतन्त्रमै सुस्तता आएपछि अर्थमन्त्री शर्माले बजारमा कसरी लगानी योग्य रकम उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छलफल गरेका थिए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले आज अर्थमन्त्रीले बैंकरहरुक कुरा गम्भिरतापूर्वक सुन्नु भएको र उहाँहरुले राखेको प्रस्तावको सम्बन्धमा अर्थमन्त्रालयले गम्भिर छलफल हुने बताए । तरलता अभावको विषयलाई मुख्य केन्द्रमा राखेर गरिएको छलफलले कुनै निष्कर्ष दिन नसके पनि त्यसले माहौल सकारात्मक बनाएको अर्थमन्त्रालयले जनाएको छ ।

आजको छलफल सकारात्मक रुपमा सम्पन्न भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बीमापोष्टलाई जानकारी दिए । आजको छलफलमा अर्थमन्त्री शर्माले समस्याको समाधान गर्न आफू हरदम तयार रहेको र तरलता समस्या जतिसक्दो छिटो हल गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्रीको प्रतिबद्धताले बैंकरहरुको मनोबल उच्च भएको संघले सम्बन्ध एक सिईओले जानकारी दिए । उनले भने, ‘खुलेर कुराकानी भयो, यसले समस्या हल हुन्छ भनेर आशावादी बनाएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*