अन्ततः पारित नहुने भयो एमसीसी, माओवादी, एमाले समाजवादी र वामदेव उत्रिए विरुद्धमा

२४ कार्तिक २०७८, बुधबार २०:१५

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को परियोजना नेपालमा लागू गर्ने सम्बन्धमा संसदबाट पारित नहुने भएको छ । सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र, एमाले समाजवादी तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमले एमसीसी परियोजनाको विरुद्धमा उत्रिएपछि उक्त योजना संसदबाट पारित नहुने भएको हो ।

हिजो बसेको माओवादी केन्द्रको बैठकले एमसीसी यथास्थितिमा पारित नगर्ने निर्णय गरेसँगै एमसीसी संकटमा परेको थियो । आज अर्का प्रभावशाली नेता बामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई सुझाव दिएसँगै एमसीसी पारित नहुने निश्चित भएको हो ।

५० करोड डलर बराबरको प्रशारण लाईन निर्माण तथा सडक निर्माणको लागि अमेरिकी रणनीतिक सहयोग सम्बन्धी परियोजना एमसीसीबाट आर्थिक सहयोग लिने सम्बन्धमा २०७३ सालमा नेपालले अमेरिकासँग सम्झौता गरेको थियो । देशमा चर्को विरोध भइरहेको एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकालाई पत्र पठाइसकिएको भन्ने उद्घोष गरेसँगै थप विवादमा परेको थियो ।

पार्टीभित्रको चर्को दवावमा परेका प्रचण्डले एमसीसी परियोजना पारित नगर्ने निर्णय पार्टीबाट गराएकोले अब एमसीसी थप संकटमा परेको छ । अर्बौ रुपैयाँ खर्च भइसकेको एमसीसी परियोजनाको लागि नेपाल सरकारले खर्च गर्दै आएको छ ।

बेलायतमा सम्पन्न भएको जलवायु सम्मेलनमा भाग लिन गएका प्रम शेर बहादुर देउवा चर्को दवावमा परेर एमसीसी परियोजना पारित गर्ने भन्दै फर्केका थिए । तर, प्रम देउवाको अभिव्यक्तिका कारण उत्पन्न भएको राजनीतिक तरंगले नेकपा समाजवादीले समेत एमसीसी पारित नगर्ने जनाइएको छ ।

राजनीतिक रुपमा चर्को विवादमा परेको एमसीसीका कारण राजनीतिक दलहरुको भविष्य नै संकटमा पर्ने भएपछि बाध्य भएर इण्डोप्यासिफिक रणनीति अन्तर्गतको एमसीसी अनुमोदन गर्न दलहरु हिच्किचाएको मात्रै नभई पारित नगर्ने निर्णय गर्न बाध्य हुनु परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*