बैंकहरुलाई गभर्नरको चेतावनी, ‘सहजकर्ताबाट हस्तक्षेपको भूमिकामा देखिनु नपरोस्’

२३ कार्तिक २०७८, मंगलवार १९:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नियामकको भूमिका सहजकर्तामा मात्रै सीमित गर्ने गरी काम गर्ने निर्देशन दिएका छन् ।

मंगलबार नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चेतावनी दिएका हुन् । गभर्नर अधिकारीले प्रतिस्पर्धाबाट नै मूल्य तय हुने र त्यसको लाभ समग्र क्षेत्रले प्राप्त गरोस् भन्ने चाहना भएपनि अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि सहजकर्तामात्रै नभएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको प्रष्ट पार्दै आगामी दिनमा सहजकर्ताको भूमिकामा सीमित रहने गरी काम गर्न र नियामक खुलेर आउने अवस्था सिर्जना नगर्न बैंकहरुलाई निर्देशन दिएका छन् ।

उनले कार्यक्रममा बोल्दै बैंकरलाई तत्काल नाफा खोज्ने भन्दा पनि दीर्घकालिन प्रतिफललाई ध्यान दिन आग्रह गरेका छन् । “बैंक भनेको मध्यस्थकर्ता हो, सेवा शुल्कमार्फत मध्यस्तकर्ताले धेरै फाइदा लिनु हुँदैन” उनले भने, ‘प्रतिकूल समयमा उच्च नाफा खोज्नेभन्दा पनि सबै क्षेत्रलाई सँगै लैजाऔँ । नियामकीय निर्देशनमा छिद्र खोज्ने काम नगरौँ ।’

बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट अघि बढिरहेको उनले बताए । समग्र आर्थिक क्षेत्र चुनौतीबाट गुज्रिएको छ । वित्तीय क्षेत्रमा समस्या भइरहेकै छ, गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा महामारीमा सुपरभिजन नहुँदा सुशासनमा कमी देखिएको छ ।’

कार्यक्रममा नेपाल बैकर्स संघका नव नियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्पर्धीको लागि संघले आगामी दिनमा पहल गर्ने बताएका छन् । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित उपाध्यायले भने, ‘चुनौतीहरूलाई व्यवस्थापन गर्ने अवसर पाएका छौं, अवसरबाट सबैले लाभ लिन सहकार्य गरेर अघि बढ्छौं ।’

संघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष उपाध्यायले नयाँ कमिटीले अहिलेको बैकिङ क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने बिषयहरुलाई अघि बढाउने बताए ।

नवनियुक्तउपाध्यायले भने, ‘कोभिडबाट बैंक, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशल व्यवस्थापन गर्न सक्षम भयौँ । यसमा राष्ट्र बैंकको भूमिका ठूलो छ र यसबीच उत्साहित ग्रोथ पनि भयो । आगामी दिनमा पनि सहकार्य जरुरी छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*