ग्रिनहिल सिटीका भेषराज लोहनी र सेन्चुरी बैंकको मिलेमतोमा एक करोडबढि घोटाला

टोप बहादुर सोती (मनिष)
२३ कार्तिक २०७८, मंगलवार ११:२०

काठमाडौं । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिनहिल सिटी र नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबारको लागि अनुमति प्राप्त सेन्चुरी बैंकका कर्मचारीको मिलेमतोमा एक करोड रुपैयाँ भन्दा बढि घोटाला भएको तथ्य फेला परेको छ ।

बीमापोष्टलाई पीडितले उपलब्ध गराएको कागजातमा ग्रिनहिल सिटीको इमाडोलमा घर खरिद गर्ने शान्ता शर्माको नाममा बैंकबाट प्रवाह भएको भनिएको एक करोड ३१ लाख रुपैयाँको ऋण कीर्ते भएको फेला परेको छ । रोचक कुरा के छ भने बैंकले कीर्ते ऋण प्रवाहमाथि ऋणीसँग साँवा र ब्याज समेत असुल गरेको भेटिएको छ ।

२०७५ साल पुस २९ गते सेन्चुरी बैंक, लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटी र ऋणी तथा घर खरिद गरेकी शान्ता शर्माका बीचमा त्रिपक्षिय सम्झौताका आधारमा सेन्चुरी बैंकले ग्रिनहिल सिटीलाई एक करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको थियो । सो कर्जा बापत ऋणी शान्ता शर्माले बैंकलाई नियमित साँवा ब्याज समेत भुक्तानी गर्दै आएकी थिईन् ।

त्रिपक्षिय सम्झौता अनुसार ग्रिन हिल सिटीले कूल तीन करोड २२ लाख ३१ हजार रुपैयाँ मूल्य निर्धारण गरी शान्ता शर्मालाई घर बिक्री गरेको थियो । घरको लागि शान्ता शर्माले एक करोड तीन लाख रुपैयाँ टोकन बैना बापत भुक्तानी गरेकी थिईन् । घर खरिदकर्ताले एक करोड तीन लाख रुपैयाँ बैना लगाइसकेको अवस्थामा बैंकले एक करोड ३१ लाख रुपैयाँ ऋण दिन मन्जुर गरी भुक्तानी गरेको बैंकले पठाएको कागजातबाट प्रमाणित हुन्छ ।

सम्झौतामा उल्लेख भए बमोजिम २०७५ साल माघमै ग्रिनहिल सिटीले इमाडोलनमा निर्माण भएको घर नं १६ को घर फिनिसिङ गरी तयार गरिसक्नुपर्ने थियो । कम्पनीले घर फिनिसिङ गर्दै गरेन । उल्टै, दुई वर्षपछि घटना नयाँ मोड लियो । २०७७ साल पुस १ गते सेन्चुरी बैंकले ग्रिनहिल सिटीलाई पत्र लेख्दै त्रिपक्षिय सम्झौता बमोजिम बिक्री गरिएको घरको हक हस्तान्तरण गरी धितो सुरक्षण गर्नुपर्नेमा सो काम ७ दिनभित्रमा सम्पन्न गर्न भन्दै पत्राचार भएको प्राप्त कागजातमा देखिन्छ । त्यतिबेलासम्म बैंकले नियमित रुपमा साँवा र ब्याज किस्ता पाइरहेको थियो ।

सेन्चुरी कमर्सियल बैंकका कर्मचारी र ग्रिनहिल सिटीका लोहनी बीचको सेटिङ गरिएको सो घोटाला काण्डको दोस्रो पत्र शान्ता शर्माको नाममा ग्रिन हिल सिटीबाट प्राप्त भएको देखिन्छ । बैंकको पत्रपछि ग्रिनहिल सिटीले २०७७ माघ ६ गते घर खरिदकर्ता तथा बैंकका ऋणी शर्मालाई पत्र पठाउँदै घर खरिद सम्झौता बमोजिमको घर निर्माण कार्य सम्पन्न भइसकेकोले ७ दिनभित्रमा राजिनामा पारित गरि लिन सूचना दिइएको छ । जबकी घर खरिद सम्झौता गर्दा जस्तो अवस्थामा थियो, आज पनि सोही अवस्थामा छ ।

अब उक्त घोटाला काण्ड पुनः नयाँ मोडमा पुग्छ । २०७७ माघ १५ गते सेन्चुरी बैंकले ऋणी तथा घर खरिदकर्ता शान्ता शर्मालाई च.नं ४९६ नम्वरको पत्रमार्फत बैंकले स्वीकृत गरेको एक करोड ३१ लाख रुपैयाँ कर्जा मध्ये एक करोड मात्रै भुक्तानी गरिएको र ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सूचना ऋणी शान्ता शर्मालाई दिइयो । साथै उक्त घरको फिनिसिङ गर्ने कार्य आफैले गर्ने हुँदा तीन करोड २२ लाख ३१ हजार मूल्य तोकिएकोमा घरको फिनिसिङ गर्दा लाग्ने १६ लाख २२ जार ३२८ रुपैयाँ कटाएर घरको मूल्य तीन करोड छ लाख आठ हजार ६७२ रुपैयाँ कायम भएको र बाँकी रहेको रकम भुक्तानी गरी घर पारित गरि लिन सूचना दिइएको देखिन्छ ।

उक्त घट्नाको करिब १० महिनापछि बैंकबाट प्रवाह भएको भनिएको कीर्ते ऋणको पोल ग्रिनहिल सिटीले खोलेको ग्रिनहिल सिटीबाट प्राप्त कागजातमा उल्लेख छ । २०७८ कार्तिक ५ गते ग्रिनहिल सिटीले ऋणी तथा घर खरिदकर्ता शान्ता शर्मालाई लेखेको पत्रमा कम्पनीले टोकन बैनाबापत एक करोड तीन लाख रुपैयाँ मात्रै भुक्तानी पाएको र बैंकले स्वीकृत गरेको ऋण बापतको कुनै रकम प्राप्त नभएकोले २०७५ माघदेखि बाँकी रहेको दुई करोड १९ लाख ३१ हजार रुपैयाँको ब्याज सहित भुक्तानी गरी १५ दिनभित्रमा घर पास गरि लिन सूचना दिइएको छ ।

एकातिर बैंकबाट एक करोड ३१ लाख रुपैयाँ ऋण प्रवाह भएको भन्ने पत्रको आधारमा बैंकमा नियमित कर्जा उपयोग बापतको साँवा ब्याज भुक्तानी गरिरहेको अवस्था विद्यमान छ भने अर्कोतर्फ भुक्तानी लिने पार्टीले सेन्चुरी बैंकले ठगी गरेको र उक्त कर्जाको नाममा बैंकले कुनै रकम नै भुक्तानी नभएको भन्ने व्यहोरोको पत्र ग्रिनहिल सिटीले दिएपछि बैंकको ऋण प्रवाह नै कीर्ते भएको देखिन आएको छ ।

सेन्चुरी बैंक र भेषराज लोहनी अध्यक्ष रहेको ग्रिनहिल सिटीको षडयन्त्रमा परेकी पीडित शान्ता शर्मा अब कानुनी उपचारको खोजीमा लाग्ने भएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*