शेयर खरिद बिक्रीका लागि टिएमएस कसरी लिने ? टिएमएसबाट शेयर खरिद बिक्री गर्ने तरिका

दिपक बिष्ट
२२ कार्तिक २०७८, सोमबार १४:२९

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सेयर कारोबार अनलाइनमार्फत नै गर्ने भएकाले लगानीकर्ताहरु अहिले औसतमा ८० प्रतिशत कारोबार अनलाइन हुन थालेको अनौपचारिक तथ्याङ्क छ ।

पहिल्लो समय डिम्याट खाता खोल्नेको संख्या २८ लाख ८३ हजारभन्दा बढी रहेको र टीएमएस लिनेको संख्या मात्र ३ लाख ५० हजार रहेको छ । दिनप्रति दिन दोस्रो बजारमा शेयर कारोबार गर्नेको सख्यामा वृद्धि भइरहेको छ । डिम्याट खाता खोलेर आईपिओ भरेकाहरुले टिएमएस लिन नजान्दा उक्त शेयर बिक्री कसरी गर्ने र दोस्रो बजारमा कसरी कारोबार गर्ने भन्ने अन्योलमा रहेका छन् ।

के हो टीएमएस ?
टीएमएसको पूरा रुप ट्रेड म्यानेजमेन्ट सिस्टम हो । यसलाई शेयर बजारको भाषामा टीएमएस भनिन्छ । टीएमएसको सुरुवात भएदेखि लगानीकर्ताले घर, कार्यालय वा आफु बसेको ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् ।

जसका लागि सर्वप्रथम ब्रोकर कार्यालयमा गएर टीएमएसको नयाँ खाता खोल्नुपर्ने हुन्छ । टिएमएस भनेको ब्रोकर कम्पनीले प्रवाह गर्ने सेवा हो । यसको लागि छुट्टै खाता खोलेर युजर आईडि र पासवर्ड लिनुपर्ने हुन्छ । उक्त सेवा लिए वापत कुनै पनि शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाईसी फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयबाट इमेलमा पनि टीएमएस युजर नेम र पासवर्ड प्राप्त गर्न सकिनेछ ।

कसरी गर्ने कारोबार ?
ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै नम्बरले पनि चिनिन्छ । ब्रोकर नम्बर अनुसार फरक फरक लगइन गर्ने व्यवस्था छ । तर, सबै ब्रोकरहरुको सिष्टम एउटै भएकोले प्रयोगमा एकपता रहेको छ । ब्रोकर कम्पनीको नम्वरको आधारमा टिएमएसको लगइन ठेगाना बनाइएको छ । सोही ठेगानामा गएर ब्रोकर कार्यालयबाट उपलब्ध गराएको युजर नेम र पासवर्ड टाइप गरी लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि त्यहीबाट शेयर खरिद तथा बिक्री गर्ने व्यवस्था छ ।

युजर नेम र पासवर्ड प्राप्त गरे पश्चात तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर खरिद बिक्री गर्न सकिन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।

त्यस्तै, टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । बिक्री भए नभएको तत्कालै देखाउने हुँदा झुक्किने सम्भावना हुँदैन । सेयर मूल्य राख्दा तत्कालको मूल्य भन्दा न्यूनतम वा अधिकतम् २ प्रतिशत सम्म तलमाथि गरेर अर्डर राख्न सकिन्छ ।

टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । शेयर खरिदका लागि आफ्नो ब्रोकर कम्पनीमा सम्पर्क गरी केही कम धरौटी राखी कारोबार सुरु गर्न अनुमति लिनुपर्दछ ।

सेयर कारोबार गर्दा कति शुल्क लाग्छ ?
सेयर बजारमा तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा ०.४ प्रतिशत शुल्क, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत शुल्क, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।

सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।

शेयर बिक्री गरेपछि इडिआईएस गर्नुपर्दछ । अर्थात तपाईको खातामा भएको शेयर बिक्री गरेपछि लैजाने अनुमति माग्दछ, त्यस्तो अनुमति बिक्री गरेको भोलिपल्ट ३ बजेभित्र स्वीकृति दिईसक्नुपर्नेछ । त्यसपछि मात्रै औपचारिक रुपमा बिक्री भएको मानिने छ । इडिआईएस नगर्दा उल्टो जरिवना तिर्नुपर्ने हुनसक्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*