जीवन बीमाको बोनसमा फ्युचर प्रोभिजनिङको असर देखियो, प्रभु लाइफको बढ्दा केहीको घट्यो

मनिष सोती
१६ कार्तिक २०७८, मंगलवार १३:३०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को बीमा बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए पश्चात नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

एशियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, रिलायन्स लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र प्राइम लाइफले नयाँ बोनसदर घोषणा गरिसकेको छ ।नयाँ बोनसदर सार्वजनिक गरेका मध्ये प्राइम लाइफ, सूर्या लाइफ इन्स्योरेन्सबाहेक सबै पूराना कम्पनीको बोनसदर घटेको छ । बोनस दर घोषणा गरेका नयाँ जीवन बीमा कम्पनीमध्ये केही कम्पनीको बोनसदर प्रभावित भएको देखिएको छ भने केही कम्पनीको बोनसदर स्थीर छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस दर घटेको छ । यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको बोनसदर भने बढेकोे छ । आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा ज्योति लाइफको बोनस दर घटबढ भएको छैन । अर्थात कम्पनीको बोनसदर स्थीर छ । यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस दर समेत स्थीर छ ।

कम्पनीहरुले सार्वजनिक गरेको बोनसदर तालिका अनुसार सबै कम्पनीको बोनसदर घटेको देखिएको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीहरुको बोनसदर प्रभावित भएको देखिएको हो ।बीमा समितिको फ्युचर बोनसको व्यवस्थाले बीमा कम्पनीहरुको बोनसदर प्रभावित हुन गएको हो । समितिले आगामी पाँच वर्षभित्रमा १०० प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था कायम गरेकाले कम्पनीहरुको बोनसदर घट्न पुगेको हो । समितिले दिएको निर्देशनअनुसार प्रोभिजनिङ गर्दा बीमा कम्पनीहरुले दिँदै आईरहेको बोनसदर घटेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुले बीमितलाई दिने बोनसदरमा एकरुपमा कायम गर्नका लागि भन्दै फ्युचर बोनसको अवधारणा अघि सारेको थियो । जसको प्रभाव बीमा कम्पनीहरुको बोनसदरमा पर्न गएको हो । बीमा समितिले बोनसदरमा हुने तीव्र उतार–चढावलाई व्यवस्थित गर्नका लागि फ्युचर बोनसको रणानीति अघि ल्याएको हो ।

यस्तो व्यवस्थाले कम्पनीहरुको बोनसदर घट्दा बजारमा कम्पनीप्रति नकारात्मक असर परेपनि भविष्यमा भने यस्तो व्यवस्थाले राम्रो प्रभाव पार्ने विश्लेषकहरुको तर्क छ । समितिले दिएको यस्तो निर्देशनले पछिका दिनमा सकारात्मक प्रभाव पार्ने विज्ञको ठम्याई छ ।

यसअघि कम्पनीहरुमा फ्युचर बोनसको अभ्यास थिएन । त्यस्तो अभ्यास नहुँदा अर्को वर्षको लागि समेत प्रोभिजनिङ गर्दा कम्पनीहरुको बोनस दर धेरै मात्रामा घट्न पुगेको देखिएको छ ।
फ्युचर बोनसको व्यवस्थाले तत्काल बोनस घटाए पनि बजारमा एकरूपता र स्वस्थ प्रतिस्पर्धा कायम गर्नमा सहयोग पुग्ने एक विश्लेषकले बताए । बीमा समितिले लिएको यस्तो अभ्यासले भविष्यमा सकारात्मक प्रभाव पार्ने उनी बताउँछन् । बीमितहरुमा पनि बोनसदर घट्ने बढ्ने कुरामा अभ्यस्त पार्ने उनको बुझाइ छ ।

भविष्यमा पनि कम्पनीहरूले बीमितहरूलाई दिने बोनस नघटोस् भन्ने उद्देश्यका साथ फ्युचर बोनसका लागि प्रोभिजन गर्नुपर्ने नयाँ व्यवस्थाले बीमितहरूले पाउने बोनसमा एकरुपता देखिने उनको तर्क छ । कम्पनीहरुले केही वर्ष आकर्षक बोनस दिने र त्यसपछि घटाउने प्रवृत्तिको अन्त्य गर्न फ्युचर बोनसका लागि प्रोभिजनिङको व्यवस्था गर्न ल्याइएको समितिको रणनीतिले भविष्यमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको थियो । सो निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले आगामी ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो ।

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांक सम्बन्धी निर्देशिका, २०७७ मा फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको हो । समितिले जारी गरेको उक्त निर्देशिकामा शत प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै यस्तो व्यवस्था लागू गरेको थियो ।

समितिले गत वैशाख महिनाको १६ गते इजाजतपत्र प्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनमा फ्युचर बोनस रिजर्भ गरी घोषित नयाँ बोनसदरमा कायम गर्नका लागि पाँच वर्षे योजना तयार गरी पेश गर्न भनेको थियो ।

समितिले आर्थिक वर्ष २०८१/८२ को बीमांकीय मूल्यांकन प्रतिवेदनमा फ्युचर बोनस रिजर्भ घोषित नयाँ बोनसदरमा कायम गर्नका लागि ५ वर्षे योजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो ।

नेपालमा १९ जीवन बीमा कम्पनीले जीवन बीमा सम्बन्धी व्यवसाय गर्दै आएका छन् । सञ्चालनमा रहेका अझै १३ जीवन बीमा कम्पनीहरुले आथिर्क वर्ष २०७६÷७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*