तीन प्रकारका बीमाको लाइसेन्स खोल्ने तयारी, बीमा समितिबाहिर भटाभट गृहकार्य

रिना खत्री
१४ कार्तिक २०७८, आईतवार १५:१८

काठमाडौं । नेपालमा निर्जिवन बीमा, जीवन बीमा र लघु बीमा व्यवसायको लागि नयाँ लाइसेन्स खुल्ला गर्न गृहकार्य सुरु भएको छ । कतिपय कामहरु बीमा समिति बाहिर भइरहेको छ भने बीमा समितिले छिट्टै नयाँ लाइसेन्स खुल्ला हुने संकेत दिएको छ । बीमा समिति नयाँ लाइसेन्सको लागि तयार भएपनि अर्थमन्त्रालय पूर्ण रुपमा तयार नभइसकेको बुझिएको छ ।

नयाँ लाइसेन्स खुल्ला हुने भएपछि माफियाहरु बीमा समिति बाहिर भव्य तयारीमा जुटेका छन् । नयाँ लाइसेन्स खुल्ने हल्लासँगै नयाँ कम्पनी दर्ता गर्नेहरुको भिड ह्वात्तै बढ्ने अनुमान गरिएको छ । २०७३ सालमा बीमा समितिले नेपालमा बीमा कम्पनीहरुको संख्या आवश्यकता भन्दा बढि भएको भन्दै स्थायी रुपमा बन्द गर्ने निर्णय गरिसकेको अवस्था छ ।

पछिल्लो तयारी अनुसार बीमा समितिले जीवन र निर्जीवन छुट्टा–छुट्टै लघु बीमा कम्पनीको लागि लाइसेन्स खोल्ने तयारी गरेको हो । बीमा समितिका उच्च अधिकारीका अनुसार बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था भएकाले अव आउने लघु बीमामा पनि त्यहि नियम लागु हुने बीमापोष्टलाई जानकारी दिए ।

स्रोतका अनुसार विभिन्न माफियाहरुले सेटिङ मिलाएर उपल्लो प्रशासनिक निकायबाट लघु बीमा, जीवन र निर्जीवनको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको जनाइएको छ।

नयाँ आउन चाहने कम्पनीहरु जीवन बीमाको लागि कम्तीमा पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँको पुँजी संरचना तोकेर लाइसेन्स दिन सकिने योजना बनाउन समिति नेतृत्वलाई निर्देशन दिएको बुझिएको छ । अर्थमन्त्रालयले यी दुबै बिषयमा समितिलाई गृहकार्य गर्ने जिम्मेवारी दिएपनि बीमा समितिको सञ्चालक समिति अपूर्ण रहेकोले अन्तिम निर्णय भने भइसकेको छैन । बीमा समितिको संचालक समितिबाट किरण कुमार श्रेष्ठले राजिनामा दिएपछि अहिले अपुरो छ । दशैंपछि बसेको बीमा समितिको बोर्डको बैठकले कानुनको बिषयमा प्रकृया अघि बढाउन, नियमित गर्नुपर्ने काम कार्वाहीलाई निरन्तर दिने सहमतिका साथ काम भइरहेको छ ।

नयाँ कम्पनी दर्ता सम्बन्धी विषयमा अर्थमन्त्रालयबाट रिक्त संचालक समितिमा नियुक्त गरी लाइसेन्सको प्रकृयाका लागि प्रकृया अगाडि बढाउने सम्बन्धी कुराकानी भएको बीमा समितिले जनाएको छ । उता, बीमा समितिका अध्यक्ष सूर्य सिलवालले लाइसेन्स खुल्ला गर्ने सम्बन्धी कुनै नयाँ निर्णय नभएको जनाएका छन् । ‘लघु बीमाको लाइसेन्स वितरणका लागि हामीले कुनै निर्णय गरेका छैनौं, संचालक समिति नै अपूर्ण छ, लाइसेन्स खुलाउने बिषयमा छलफल सम्पन्न भयो भने हामी सार्वजनिक सुचना नै प्रकाशित गर्छौ नि,’ अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्टसँग भने ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संचालक समितिमा ३ जना मात्र रहेको कारण अपूर्ण हुने भएकाले नयाँ संचालकको नियुक्तिपछि मात्रै बीमा समितिले महत्वपूर्ण निर्णयहरु गर्न सक्ने जानकारी दिए । बीमा समितिको सञ्चालक समितिको इतिहासमा सर्वसम्मत निर्णय गर्ने प्रचलन रहँदै आएको छ । अहिलेको बीमा ऐनले लघु बीमा कम्पनीको परिकल्पना भने गरेको छैन । तर, समितिले बीमा ऐन २०४९ (संशोधनसहित) को दफा ८ (घ२) अनुसार २०७६ सालमा लघु बीमा निर्देशिका भने जारी गरेको छ । उक्त दफामा ‘बीमा व्यवसायको सम्बन्धमा बिमकलाई समय–समयमा आवश्यक निर्देशन दिने’ बीमा समितिको काम, कर्तव्य र अधिकार दिने भनिएको छ ।

उता, लघुबीमाको लाइसेन्स वितरणमा कानुनी झन्झट समेत देखिएका छन् । लघु बीमा सम्बन्धी व्यवस्था बीमा ऐनमा नभएको कारण बीमा समितिले लघुबीमा लागु हुने सम्बन्धी कुनै दफामा राखेर निर्देशिका जारी गर्ने र सोही निर्देशिकाको आधारमा लाइसेन्स वितरण गर्नेदेखि त्यस्ता कम्पनीको न्यूनतम चुक्ता निधारण गर्ने देखि अन्य वित्तीय व्यवस्थाहरु पनि समितिले निमार्ण गनुपर्ने देखिन्छ । ऐन अनुसार लघु बीमाको हकमा पनि जीवन र निर्जीवन दुबै किसिमको व्यसाय गर्न पाइदैन । समितिका ति अधिकारीले भने ‘लघु बीमाको लागि दुबै किसिमको व्यवसाय गर्न पाउने व्यवस्था गरिदिन पाए त हुने हो तर ऐनले दिदैन ।’

समितिले नेपालमा बहुसंख्यक नेपाली गरिवीको रेखामुनी रहेको र लघु बीमा मार्फत उनिहरुमा बीमाको पहुँच पुर्याउनु पर्ने भन्दै लघु बीमाको लाइसेन्स खुला गर्ने तयारी गरेको हो । केहि समय अगाडी निर्देशक शुसिल देव सुवेदीको संयोजकत्वमा नेपालमा लघु बीमाको अवस्थाको विषयमा अध्ययन गरिएको थियो । उक्त अध्ययनले नेपालमा लघु बीमाको पहुँच १० प्रतिशत मात्रै रहेको हुँदा लघु बीमाको पहुँच बढाउनु पर्ने देखिएको भन्दै निष्कर्षण निकालेको थियो । समितिले यहि अध्ययन प्रतिवेदनलाई आधार मान्दै प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय खोल्नुपर्ने गरी लघु बीमाको लाइसेन्स खोल्ने तयारी गरेको हो । समितिले लाइसेन्स खोल्ने तयारी अन्तिम चरणमा पुर्याइसकेको हुँदा केहि समयमै सार्वजनिक सूचना मार्फत आह्वान गर्ने एक अधिकारीले जानकारी दिए ।

बीमा ऐन २०४९ मा लघुबीमाको विषयमा स्पष्टसँग केहि पनि खुलाइएको छैन । तर ऐनमा जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालनको विषय उल्लेख रहेकोले जीवन र निर्जीवनमा लघु बीमा थप गरेर कम्पनी खोल्ने पक्षमा बीमा समिति रहेको छ । लघु थपेर जीवन र निर्जीवन व्यवसायका लागि कम्पनी खोल्दा नयाँ कानुन बनाउनुपर्ने झण्झट पनि नहुने समितिको बुझाइ छ । लघु बीमाको लाइसेन्सका लागि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका संसोधन गरे पुग्नेछ ।

समितिले लघुबीमाको लागि न्युनतम् चुक्ता पूँजी ५० करोड रुपैयाँ हुनुपर्ने अडान लिए पनि मन्त्रालयले २५ करोड मात्रै कायम गर्न सुझाव दिदै आएको छ । यदि जीवन र निर्जीवन छुट्टा छुट्टै लघु बीमा आयो भने संख्या पनि थपिने ति अधिकारीले जानकारी दिए । त्यस्तै, समितिले लघु बीमाको लागि न्युनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ हुने पर्ने अडान लिए पनि मन्त्रालयले २५ करोड मात्रै कायम गर्न सुझाव दिदै आएको छ ।
समितिले यहि अध्ययन प्रतिवेदनलाई आधार मान्दै प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय खोल्नुपर्ने गरी लघु बीमाको लाइसेन्स खोल्ने तयारी गरेको हो । समितिले लाइसेन्स खोल्ने तयारी अन्तिम चरणमा पुर्याइसकेको हुँदा केहि समयमै सार्वजनिक सूचना मार्फत आह्वान गर्ने एक अधिकारीले जानकारी दिए ।

One thought on “तीन प्रकारका बीमाको लाइसेन्स खोल्ने तयारी, बीमा समितिबाहिर भटाभट गृहकार्य

  1. Arun shah says:

    Nepal ma dherai bank &finacial institute x. Baru merg garnu parx.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*