राष्ट्र बैंकको हस्तक्षेपपछि आजैबाट बैंकको ब्याजदर घट्दै, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्र बैंकले निकाल्यो स्थायी समाधान

३ कार्तिक २०७८, बुधबार ०६:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविक रुपमा बृद्धि गरेको ब्याजदर आजबाट ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई ब्याजदर घटबट गर्न १० प्रतिशतको सीमा निर्धारण गरेपछि सबै बैंकहरुले आजबाट असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदरमा १० प्रतिशत मात्रै बृद्धि गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्था लागू भएपछि आजबाट अधिकांश बैंकहरुको ब्याजदर निक्षेपमा ९ प्रतिशतभन्दा तल हुनेछ भने कर्जामा १२ प्रतिशतसम्म पुग्नेछ । बढाइएको ब्याजदर खारेजसँगै देशैभरिका उद्योगी, व्यवसायीहरु खुशी बनेका छन् भने शेयर लगानीकर्ताहरुलाई ठूलो राहत मिल्नेछ ।

त्यसको लागि हिजो केन्द्रीय बैंकले मौद्रिक नीति नै संशोधन गरेको थियो । केन्द्रीय बैंकले एकीकृत मौद्रिक निर्देशिकाको बुँदा १ मा उपबुँदा थप गरी सबै बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर निर्धारण गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा अधिकतम् १० प्रतिशतको सीमाभित्र रहेर ब्याजदर घटबढ गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकहरुको मनोमानीका विरुद्धमा सुक्ष्म निगरानी गरिरहेको केन्द्रीय बैंकहरुले ब्याजदरको सन्दर्भमा केन्द्रीय बैंकले नयाँ नीति नै जारी गरेर स्थायी रुपमा बध्याकरण गरिदिएको छ ।

स्रोतका अनुसार हिजो दिनभर अर्थमन्त्रालय बैंकहरुले ब्याजदरमा गरेको अस्वस्थ प्रतिस्पर्धालाई स्थायी रुपमा नियमन गर्ने सम्बन्धमा छलफल चलेको थियो । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको मनोमानी रोक्न स्थायी रणनीति अपनाउन निर्देशन दिएसँगै अर्थमन्त्रालयसँग समन्वय गरेर नेपाल राष्ट्र बैंकले एकीकृत मौद्रिक निर्देशिका नै संशोधन गर्ने निष्कर्षमा पुगेको हो । अब उप्रान्त उक्त नियम स्थायी रुपमा लागू हुनेछ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले हिजो मंगलबार जारी गरेको निर्देशनमा बैंकहरुले लिदै आएको ब्याजदरमा अधिकतम् १० प्रतिशतमात्र हेरफेर गर्न पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था आज अर्थात कार्तिक ३ गतेबाट लागू गर्न निर्देशन दिएकोले आजैबाट सबै बैकहरुले बढाएको ब्याजदर खारेज भएको छ र नयाँ अर्थात जम्मा १० प्रतिशतले बढाएको ब्याजदर लागू भएको छ ।

यसका साथै केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेप बोलकबोल गर्दा व्यक्तिगत मुद्दतीमा भन्दा एक प्रतिशत कम ब्याज निर्धारण गर्न निर्देशन दिएको छ । एकपटक सार्वजनिक संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ महिनासम्म सोही कायम गर्न समेत निर्देशन छ ।

केन्द्रीय बैंकले हिजो जारी गरेको निर्देशन अनुसार आजैबाट लागू हुने नयाँ ब्याजदर सम्बन्धी सूचना आजै वेभसाईटमा प्रकाशन गर्नुपर्नेछ भने कार्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*