बीमा सम्बन्धी जनचेतनामूलक सामग्री रेडियो नेपालको अनलाइन पोर्टलमा प्रकाशन हुने

२ कार्तिक २०७८, मंगलवार १७:३०

काठमाडौं । बीमा समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।उक्त सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने सम्बन्धी सम्झौता भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए । यसले बीमाको दायरामा थप सहयोग पुराउने विश्वास लिएको उनले बताए ।

उक्त सहमतीपत्रमा बीमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गरेका हुन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ देशव्यापी रूपमा सञ्चालन गर्न जोड दिनुभए अनुसार अनलाइन सञ्चार माध्यमबाट समेत बीमासम्बन्धी चेतनामूलक सामग्रीहरूको प्रकाशन सुरु गर्न लागिएको बिमा समितिले जनाएको छ ।

सरकारले बीमाको दायर विस्तार गर्दै चालू आर्थिक वर्षमा देशको कूल जनसङ्ख्याको एक तिहाइलाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको छ ।सरकारको सोही लक्ष्यलाई ध्यानमा राखी बीमाको पहुँच बढाउँदै देशका विभिन्न भागमा बसोबास गर्ने विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त वर्गलाई समेत बिमाको दायरामा ल्याउन प्रतिबद्ध रहेको समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*