महालक्ष्मी लाइफमा आबद्ध बीमा अभिकर्ताको टोली समितिमा, अभिकर्ता पेशालाई खुम्च्याउने प्रयास गरेको गुनासो

१२ आश्विन २०७८, मंगलवार १४:०८

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत अभिकर्ता संघका पदाधिकारीहरु आइतबार बीमा समितिमा पुगेर बीमा अभिकर्ताहरुको गुनासो र बीमा समितिले गरेको व्यवहारका सम्बन्धमा अध्यक्ष सूर्य सिलवाल समक्ष छलफल गरेका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पेशागत बीमा अभिकर्ता संघका सल्लाहकार बासुदेव त्रिपाठी, पेसागत अभिकर्ता महालक्ष्मीका तर्फबाट अध्यक्ष सुर्य भट्टराई, बरिष्ठ उपाध्यक्ष युबराज बास्तोला, तथा सल्लाहकारहरु लक्ष्मण भुसाल, रामजी उपाध्याय, तथा निशिप अधिकारीसहितको टोलीले बीमा समितिका अध्यक्ष सिलवाल सहितका पदाधिकारीसँग छलफल गरेको छ ।

बीमा ब्यबसायमा आबद्ध सम्पूर्ण पेशागत अभिकर्ताहरुका हक र अधिकारका लागि पछिल्लो समय बीमा समितिको निर्णयले अभिकर्ताको पेशालाई साँघुरो बनाउने कोसिस गरेको भन्दै महालक्ष्मी लाइफ इन्स्योरेन्समा आबद्ध अभिकर्ताको टोली बीमा समितिको निर्णयविरुद्ध आफ्ना असहमति जनाउदै अध्यक्ष सिलवालको ध्यानाकर्षण गराएको जनाएका छन् ।

बीमा अभिकर्ताले बिगतमा आफ्नो ब्यबसाय वृद्धिको लागि कम्पनीबाट पाउँदै आएको सबारी साधन ऋण सुबिधा, ब्यक्तिगत कर्जा सुबिधाहरु बन्द गरेको तथा ब्यक्तिगत अभिकर्ताले लिइदै आएको लाइसेन्सलाई प्रोमोट गर्नुको सट्टा संस्थागत लाइसेन्स बितरण गरेर लाखौं अभिकर्ताको भबिष्यलाई अनिश्चित बनाउने प्रयत्न भएको भन्दै बीमा समिति समक्ष गुनासो गर्न पुगेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले समितिका अध्यक्ष सिलवाल समक्ष आफ्नो असहमतिहरु प्रस्तुत गरेर फर्केको जनाएको छ । बीमा समितिबाट पेशागत बीमा अभिकर्ताहरुको गुनासोलाई उचित सुनुवाई हुने अपेक्षा गरेको अभिकर्ता संघका उपाध्यक्ष बास्तोलाले बताए ।

महालक्ष्मी लाइफ पेशागत अभिकर्ता पदाधिकारीको टोलिले कोरोनाले थिलथिलो बनाएको बीमा बजार अझ फराकिलो बनाउनेतर्फ बीमा समितिको ध्यान जानुपर्नेमा त्यसो हुन नसकेको गुनासो अध्यक्ष सामू गरेको थियो । अभिकर्ता संघले संस्थागत अभिकर्ताको लाइलेन्स बितरण नगर्न, अभिकर्ताले पाउँदै आएको कर्जा सुबिधालाई एउटा मापदण्ड बनाएर दिने ब्यबस्था गर्न समितिका अध्यक्ष समक्ष माग गरेको संघले जनाएको छ ।

पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय नेतृत्वले बीमा अभिकर्ताहरुको समस्याको सम्बन्धमा ठोस दवाव सिर्जना गर्न नसकेपछि बीमा अभिकर्ताहरु आ–आफ्नै समुह बनाएर बीमा समितिमा गुनासोको लागि पुगेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*