वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यु लगाउने तयारी

३० चैत्र २०८१, शनिबार १८:२५

काठमाडौं । वीरगञ्जको तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।

दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

यता, झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*