राजनितिक भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ हुने संकेत

काठमाडौं । सत्तासिन राजनीतिक दलहरुका बीचको झगडा, बीमा प्राधिकरणको अध्यक्षको पद धरापमा परेसँगै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती प्रक्रियामा ढिलाई हुने भएको छ । सरकारले नयाँ गभर्नर नियुक्तीमा ढिलाई हुने भएपछि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
सरकारले गभर्नर नियुक्तीको प्रक्रिया नै पुरा नगरी सिधैं नियुक्ती गर्न खोजेको बिषयमा बीमापोष्टमा समाचार प्रकाशित भएको थियो । छिट्टै गभर्नर नियुक्तीको हल्लाका बीचमा सरकारले डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेपछि नयाँ गभर्नर नियुक्ती प्रक्रिया अझै केही समय पर सर्ने अनुमान गरिएको छ ।
गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बिदा भएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
अर्थ मन्त्रालयले ढुंगानालाई कामु तोकेसँगै गभर्नर नियुक्ति प्रक्रिया थप ढिलाइ हुने देखिएको छ । राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनुभन्दा १ महिना अगाडि नै गभर्नर नियुक्ति गर्ने व्यवस्था गरे पनि समयमा नियुक्त गर्न सरकार असफल भएको छ ।
गभर्नर अधिकारीको कार्यकाल सकिन लागेपछि गत फागुन अन्तिम साता सरकारले नयाँ व्यक्ति छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका छन् । उक्त समितिले सिफारिस गरेका तीन जनामध्ये एकलाई सरकारले गभर्नर बनाउने छ ।
*सम्पादन गरिएको ।