पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीय बासिन्दाको शेयर ३ वर्ष लकइनमा रहने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन हो।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको छ।
आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्म माग गर्न सक्नेछन्।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। साथै स्थानीय बासिन्दाहरूलाई बाँडफाँडमा परेका शेयरहरू सर्वसाधारणलाई निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी लकइनमा रहने कम्पनीले जनाएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।