पूर्वराजा शाहको आगमनले राजनीति क्षेत्रमा तरङ्ग, तीन प्रमुख नेता छलफलमा बस्दै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले नेपाली राजनीतिक क्षेत्रमा नयाँ बहस जन्माएको छ । गणतन्त्र स्थापनाका लागि निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गणतन्त्रको सुदृढीकरणका लागि पहल गरिरहेका छन् । पछिल्लो समय राजावादी धारका गतिविधि तीव्र बनेपछि दाहालले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलको पहल गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता तय भएको छ । सत्तारूढ दलहरूमाझ बढ्दो असहजता र राजावादी समूहको प्रदर्शनले सिर्जना गरेको राजनीतिक माहोललाई ध्यानमा राख्दै दाहालले यो बैठकको प्रस्ताव गरेका हुन् ।
सूत्रहरूका अनुसार मन्त्रिपरिषद् बैठक सम्पन्न भएलगत्तै शीर्ष नेताहरू छलफलमा जुट्नेछन् । दाहालले गणतन्त्र पक्षधर शक्तिहरूबीच थप एकता आवश्यक रहेको भन्दै बैठकका लागि अग्रसरता लिएका हुन् । पछिल्लो समय सडकमा राजसंस्थाको पुनःस्थापनाको मागसहित प्रदर्शन हुन थालेका छन्, जसले राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न गराएको छ ।