त्रिचन्द्र क्याम्पसको पुरानो गेटले पायो नयाँ ताला

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिचन्द्र क्याम्पसमा फेरि तालाबन्दी भएको छ। क्याम्पसको मूल गेटमा नै नयाँ ताला लगाइएको छ, जसका कारण क्याम्पस प्रशासन र निर्वाचन समितिका पदाधिकारीहरू भित्र छिर्न सकेका छैनन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानियाले क्याम्पसको मुख्य गेटमा ताला लगाएका हुन्।
त्रिचन्द्र क्याम्पसमा नेविसंघले गोविन्द कोइराला समूहलाई आधिकारिक उम्मेदवारका रूपमा स्वीकार गरेको थियो। कोइरालालाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उम्मेदवारी दिएपछि श्रेष्ठ र बानियाले विभिन्न माग अघि सार्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए। तर, जब मागहरू सम्बोधन भएनन्, उनीहरूले मूल गेटमै ताला लगाउने निर्णय गरे।
तालाबन्दीसँगै विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको सूचना टाँस गरेका छन्। उनीहरूले निर्वाचन प्रक्रियामा भएको अन्यायपूर्ण गतिविधिको विरोध गर्दै आफूहरूको जायज माग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन्।
देशकै सबैभन्दा पुरानो क्याम्पस मानिने त्रिचन्द्र पछिल्लो समय राजनीतिक द्वन्द्वको केन्द्र बन्दै गएको छ। शैक्षिक वातावरण सुधार्नुपर्ने आवाज उठिरहेका बेला विद्यार्थी संगठनहरूबीचको विवादले पठनपाठनमै असर पार्ने अवस्था आएको छ।
विद्यार्थी संगठनहरूको गुटबन्दीले क्याम्पस प्रशासन नै अस्तव्यस्त बन्न पुगेको छ। क्याम्पसका नियमित विद्यार्थीहरू भने पठनपाठन अवरुद्ध हुँदा निराश देखिएका छन्। यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले आ-आफ्ना माग पूरा गराउन क्याम्पसमा बारम्बार तालाबन्दी गर्दै आएका छन्।