राजश्व उठाएर खर्च धान्न सकस पर्‍योः अर्थमन्त्री पौडेल

३ चैत्र २०८१, आईतवार १६:२३

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व अभावका कारण आर्थिक व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्। उनले राजस्व संकलनले आवश्यक खर्च धान्न नसकेको भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको स्पष्ट पारे।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि अनिवार्य दायित्वसम्बन्धी शीर्षकहरूमा समेत न्यून बजेट विनियोजन गर्नुपरेको जानकारी दिए। सरकारको लक्ष्यअनुसार ३१ प्रतिशत राजस्व संकलनको योजना भए पनि खर्च व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ थियो।

वित्तीय अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिँदै अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रक्रियामा ढिलाइ गर्न नहुने उल्लेख गरे। उनले वर्तमान अवस्थामा आर्थिक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको भन्दै विधेयकमार्फत वित्तीय अनुशासनलाई मजबुत बनाउन सरकार अग्रसर रहेको जनाए।

चालु आर्थिक वर्षमा विकास निर्माणका ११ हजार नयाँ योजनाहरू थपिएका कारण बजेट सुनिश्चित गर्न कठिन भएको मन्त्री पौडेलले बताए। सीमित स्रोतसाधनका कारण सरकारी योजना कार्यान्वयनमा चुनौती थपिएको उल्लेख गर्दै उनले वित्तीय दायित्वलाई व्यवस्थित बनाउन विधेयक आवश्यक रहेको धारणा राखे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*