निक्षेपको ब्याजदर बढ्दा बीमा कम्पनीहरुलाई राहत, बीमा कम्पनीको आम्दानीमा तत्काल बृद्धि नहुने

७ आश्विन २०७८, बिहीबार १४:५०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत एक वर्षदेखि घटाएको ब्याजदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केही बृद्धि गरेपछि बीमा कम्पनीहरुमा भने आम्दानी बृद्धि हुने आशा पलाएको छ । बैंकहरुको ब्याजदर बढेपनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा तत्काल बृद्धि नहुने भएको छ ।

बीमा कम्पनीहरुले गत मुद्दति निक्षेपमा राखेको रकममा अहिले बृद्धि भएको ब्याजदरले प्रभाव नपार्ने भएपनि अब नविकरण हुने निक्षेपमा भने बढेको ब्याजदर पाउने हुँदा केही राहत हुनेछ । एक सिईओले बीमापोष्टसँग भने, ब्याजदर बढ्यो भनेर तत्कालको लागि खुशी हुनु पर्दैन, गत वर्ष नै मुद्दतिमा राखेकाले उतिबेलाकै ब्याजदर अनुसार आम्दानी हुन्छ, अब नविकरण गर्ने निक्षेपमा एक वर्षसम्म ब्याजदर गणना हुँदा राहत हुन्छ ।’

बीमा कम्पनीहरुको करिब तीन खर्ब निक्षेप बैंकहरुमा मुद्दति खाताको रुपमा रहेको छ । गत साउन भन्दा अघि बार्षिक ४ प्रतिशतसम्म पुगेको ब्याजदर अहिले झण्डै दोब्बर अंकले बृद्धि भएपछि बीमा कम्पनीहरुलाई राहत भएको हो । ब्याजदर बृद्धि हुँदा जीवन बीमा कम्पनीहरुलाई सबैभन्दा धेरै राहत हुन्छ । नेपालका बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप मध्ये झण्डै १० प्रतिशत बीमा कम्पनीहरुका कोष हुन् । जीवन बीमा कम्पनीहरुको कोषमा चार खर्बभन्दा ठूलो कोष रहेको छ । सो मध्ये अधिकांश लगानी मुद्दति निक्षेपमा राखिएको छ ।

बैंकहरुले नेपाल राष्ट्र बैंकबाट दैनिक अर्बौ रुपैयाँ निक्षेप सापटी लिइरहेका कारण ब्याजदर अझै बढ्ने देखिएको छ । केन्द्रीय बैंकले ब्याजदर धेरै बृद्धि नगर्न बैंकहरुलाई चेतावनी दिएपनि तरलता अभावमा ब्याजदर बृद्धि हुने क्रम नरोकिने देखिएको छ ।

बैंकहरुले ब्याजदर बृद्धि गरेपनि गत वर्ष नै मुद्दति निक्षेपमा राखेको पैसाहरुको तत्काल फाइदा हुँदैन । तर, अब परिपक्व भई नविकरण गर्नुपर्ने मुद्दति निक्षेपहरुमा भने बीमा कम्पनीहरुलाई फाइदा हुनेछ । ब्याजदर बृद्धि हुँदैमा तत्काल जीवन बीमा कम्पनीहरुको बोनसमा कुनै परिवर्तन हुँदैन । बरु गत वर्ष ब्याजदर उच्च अंकले घटेकोले तत्कालको लागि केही घट्न सक्नेछ । हाल ब्याजदरमा आएको परितर्वनले आगामी वर्षमा भने पक्कै केही राहत दिने विश्वास गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*