बैंकबाट ऋण लिएर शेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश, कर्जा दिन वाणिज्य बैंक आक्रामक

१ चैत्र २०८१, शुक्रबार ११:३३

काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा ठूला लगानीकर्ताको प्रवेश तीव्र रुपमा वृद्धि भइरहेको छ। सरकारको सहायक नीति तथा नियामक निकायको सकारात्मक दृष्टिकोणका कारण शेयर बजारमा ठूला लगानीकर्तासहित साना लगानीकर्ताहरू पनि आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचिलो प्रावधानहरू समावेश गरेपछि शेयर धितो कर्जा उल्लेखनीय रूपमा बढेको देखिएको छ।

राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि २० करोड रुपैयाँको सीमा हटाएपछि बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा सक्रियता बढाएका छन्। साथै, राष्ट्र बैंकले जोखिम भारमा कटौती गरेपछि बैंकहरूको कर्जा प्रवाहमा उल्लेखनीय सुधार आएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा तीव्र रूपमा वृद्धि भएको छ। माघ मसान्तसम्ममा शेयर कर्जा ७६ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने १ करोड माथिको सेयर कर्जा ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह गरेका थिए । वर्षदिनमा १ करोडभन्दा माथिको शेयर धितो कर्जा २४ अर्ब १३ करोड २४ लाख रुपैयाँ थपिएको हो ।

चालु आर्थिक वर्षको सात महिनामा मात्र १ करोड रुपैयाँभन्दा माथिको शेयर कर्जा ३६.६ प्रतिशत अर्थात् २० अर्ब ४७ करोड रुपैयाँले बढेको छ। माघ मसान्तसम्म आइपुग्दा समग्र शेयर धितो कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ नाघेको छ। कुल शेयर धितो कर्जामध्ये १ करोडभन्दा माथिका कर्जाहरूको हिस्सा ६६.३७ प्रतिशत रहेको छ।

साना लगानीकर्ताको आकर्षणसमेत बढ्दै गएको देखिन्छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा अघिल्लो वर्षको तुलनामा २२.०५ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा अघिल्लो वर्षको १३ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जसमा १७.३८ प्रतिशतको वृद्धि देखिएको छ।

साना लगानीकर्ताका लागि उपलब्ध २५ लाख रुपैयाँभन्दा तलको शेयर धितो कर्जा भने तुलनात्मक रूपमा कम वृद्धि भएको छ। अघिल्लो वर्षको ७ अर्ब १३ करोड रुपैयाँको तुलनामा चालु वर्षको माघ मसान्तसम्म १०.८४ प्रतिशतले बढेर ७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारलाई सुरक्षित कर्जाका रूपमा हेर्दै कर्जा प्रवाह विस्तार गरिरहेका छन्। आगामी दिनमा पनि सरकारले लचिलो नीति अपनाएमा शेयर बजार थप प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

वाणिज्य बैंकले मात्रै दिए ९३ अर्ब १२ करोड ४९ लाख ऋण, कसले कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*