चार कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, चार कम्पनीको स्वीकृत हुने प्रक्रियामा
काठमाडौं । बीमा समितिबाट चार वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत भएको हो ।
बीमा समितिमा स्वीकृतिका लागि पेश भएका आठ वटा कम्पनीको एक्चुरी भ्यालुएशन मध्ये चार वटा कम्पनीको स्वीकृत भएको हो । बाँकी चार वटाको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत हुने प्रक्रियामा रहेको छ । बीमा समितिका अनुसार नेपाल लाइफ, प्रभु लाइफ, एशियन लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुरी भ्यालुएशन अन्तिम स्वीकृत हुन बाँकी छ ।
एक्चुरी भ्यालुएशन स्वीकृत भएसँगै चार वटा कम्पनीहरुको बार्षिक साधारणसभा गर्ने बाटो खुलेको छ । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशनमा हुने ढलाईका कारण वित्तीय विवरण पारित हुने ढिलाई हुँदा बार्षिक साधारणसभा ढिलाई हुँदै आएको छ । बीमा समितिले पटक पटक बीमाङ्कीय मूल्याङ्कन समयमै गर्न निर्देशन दिएपनि स्वदेशमा एक्चुरी गर्ने दक्ष जनशक्ति नभई विदेश पठाउनु परेकोले कुनै पनि कम्पनीले समयमा बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गर्न सकेका छैनन् ।
कम्पनीबाट मात्रै नभई बीमा समितिसँग पनि दक्ष एक्चुरी भ्यालुएशन गर्ने पर्याप्त जनशक्ति नहुँदा विदेशी एक्चुरीकै भर पर्नुपर्ने अवस्थाका कारण तयार भएर आएका एक्चुरी भ्यालुएशन स्वीकृत हुन ढिलाई हुने बाध्यता रहेको छ ।