ट्राफिक प्रहरीलाई बीमा कम्पनीको सहयोग

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तथा लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न बीमा कम्पनीहरूको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई ट्राफिक सुरक्षा सामाग्री प्रदान गरिएको छ।
नेपाल बीमा प्राधिकरणको कालिकानगर, बुटवलस्थित कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक सचेतना तथा व्यवस्थापन सुधारका लागि १० थान “नो पार्किङ स्ट्यान्ड”, ४ थान “दुर्घटना सचेतना बोर्ड” र २ थान “ह्वील लक” गरी जम्मा १६ थान ट्राफिक सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले ट्राफिक सुरक्षा सामाग्री हस्तान्तरण गरेका थिए भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख श्याम बहादुर खत्रीले ग्रहण गरे। खत्रीले बीमा कम्पनीहरूको यस्तो सहयोगले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले सहयोग गरेका थिए। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लुम्बिनी प्रदेश कार्यालय प्रमुख यम तिवारीले ट्राफिक व्यवस्थापनमा योगदान दिन पाउँदा खुशी लागेको बताए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले होलीको शुभकामना साटासाट गर्दै कार्यक्रम समापन गरेका थिए।