नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथ, ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, कुनको आम्दानी कति ?

काठमाडौँ । नाफामा गरिमा विकास बैंक नम्बर वानको वर्चश्व कायम गरेको छ । गरिमा उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको सात महिनामा बैंकले २२.४३ प्रतिशत नाफा वृद्धि गर्दै ६८ करोड ३२ लाख ४० हजार रुपैयाँ पुराएको छ ।
नेपाल राष्ट्रले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब २५ करोड ३६ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ३५.२५ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्ममा विकास बैंकहरुले २ अर्ब ४० करोड ५५ लाख ७० हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
समिक्षा अवधिमा नाफामा मुक्तिनाथ विकास बैंक गरिमालाई पछ्याइरहेको छ । मुक्तिनाथको नाफा १८.२५ प्रतिशतले बढेर ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
साथै, साइन रेसुङ्गाले ४४ करोड ६६ लाख, कामना सेवा विकास बैंकले ३६ करोड, महालक्ष्मी विकास बैंकले ३३ करोड ५३ लाख, ज्योति विकास बैंकले ३० करोड ५१ लाख, सांग्रिला डेभलपमेन्टले २६ करोड २१ लाख र लुम्बिनी विकास बैंकले २३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
क्षेत्रियस्तरका विकास बैंकको अवस्था कस्तो ?
क्षेत्रियस्तरका विकास बैंक अहिले चुलिँदो खराब कर्जाको सामना गर्दै छन् । कम्पनीको खराब कर्जा निकै उच्च भइरहेको छ । जसले गर्दा नाफा समेत निरन्तर प्रभावित हुँदै आइरहेको हो । कर्णाली डेभलपमेन्ट बैंकलाई अहिले राष्ट्र बैंकले आफ्नो निरन्तरमा लिएको छ । हाल बैंकको नाफा ७२ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
हाल चार क्षेत्रियस्तरका विकास बैंक मात्र नाफामा देखिएका छन् । मितेरी डेभलपमेन्ट ७ करोड, सिन्धु विकास बैंकले ४ करोड ८५ लाख, ग्रिनले १ करोड ३९ लाख र कर्पोरेटले २० लाख रुपैयाँ रहेको छ ।